काठमाडौँ : माघ १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार राशन रकममा १० प्रतिशत वृद्धि भएको हो ।
साढे ४ वर्षपछि बढेको स्केल फागुन १ देखि लागु हुने छ । २०७८ साउन यता राशन स्केल वृद्धि भएको थिएन । अहिलेको निर्णयसँगै ७९ हजार ५४१ प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् । मन्त्रिपरिषद्ले फागुनबाट लागु हुनेगरी १०.२७ प्रतिशतले राशन रकममा वृद्धि गरेको प्रहरी प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले रातोपाटीलाई बताए ।
वृद्धि भएको राशन स्केल अनुसार प्रहरी कर्मचारीले अब १९ आइटम पाउने छन् । यसअघि खाइपाई आएको १६ आइटमलाई बढाएर १९ आइटम कायम गरिएको डीआईजी काफ्लेले बताए । थप भएको आइटममा कुखुराको मासु, अण्डा र हाई इनर्जेटिक बिस्कुट छन् । सुख्खा तरकारी ५० ग्रामबाट बढेर ५५ ग्राम हुने भएको छ । चामल दैनिक ६९० ग्रामबाट बढाएर ७२० ग्राम दिने निर्णय गरिएको छ ।
जिल्लागत रूपमा राशनको रकम फरक फरक हुन्छ । हिमाली जिल्लामा राशन रकम धेरै र तराईको जिल्लामा कम हुन्छ । सबैभन्दा कम दररेट भएको झापामा अहिले प्रहरी कर्मचारीले राशन बापत दैनिक १८० रुपैयाँ ५५ पैसा पाउँदै आएका थिए । मन्त्रिपरिषद्को निर्णय अनुसार फागुनदेखि उनीहरूले १९९ रुपैयाँ १० पैसा पाउनेछन् । काठमाडौँ उपत्यकामा राशन बापत पाउने २०१ रुपैयाँ २५ पैसा बढेर २२१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । काठमाडौँमा प्रत्येक दिन २० रुपैयाँको दरले राशन रकम वृद्धि भएको छ । हुम्लामा प्रतिदिन ८९ रुपैयाँ बढेको छ । सुख्खा तरकारी ५० ग्रामबाट बढेर ५५ ग्राम हुने भएको छ । चामल दैनिक ६९० ग्रामबाट बढाएर ७२० ग्राम उपलब्ध गराउने निर्णय गरिएको छ । जिल्लागत दररेट अनुसार राशन रकम थपघट हुने डीआईजी काफ्लेले बताए ।
नेपाली सेनाका सकलदर्जाले अहिले २४ आइटम राशन पाउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने दररेट समितिले लागत अनुमान गर्ने कानुनी व्यवस्था छ । ढुवानी खर्चको आधारमा जिल्ला अनुसार दररेट फरक हुन्छ । राशन बापत प्रहरी कर्मचारीले अहिले नगद नै प्राप्त गर्छन् । सशस्त्र प्रहरीले भने सेन्टर मेस सञ्चालन गर्दै आएको छ । सेन्टर मेसमा हप्तामा ४ छाक मासु, अण्डा करी, सलाद र साग उपलब्ध गराइन्छ । काठमाडौँ उपत्यकामा सशस्त्रका जवानले दैनिक २०३ रुपैयाँ बराबरको राशन पाउँछन् । जिल्ला दररेट अनुसार मुगुमा ३ सय भन्दा धेरै राशन रकम दिइन्छ । तर, महँगी अनुसार मुगुमा त्यतिले नपुग्ने सशस्त्रका अधिकारीहरू बताउँछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij