Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

एकताको कुरा ‘बासी र असफल जालझेल’ मात्र हो : विप्लव

एकताको कुरा ‘बासी र असफल जालझेल’ मात्र हो : विप्लव

काठमाडौं : नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट आन्दोलन र एकताबारे आफ्नो पार्टीको स्पष्ट र दृढ धारणा रहेको बताएका छन् । उनले सबै कम्युनिस्ट शक्तिहरूबीच मोर्चा र सहकार्य आवश्यक भए पनि सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग मात्र एकता सम्भव हुने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमा विप्लवले माले–माओवादी पार्टीको सुदृढीकरण नै आफ्नो पार्टीको मूल नीति रहेको उल्लेख गरेका छन्। उनले चुनावी मोर्चासमेत बनाउन तयार नहुने पार्टीले एकताको कुरा गर्नु कम्युनिस्ट आन्दोलनमा पटक–पटक प्रयोग भइसकेको ‘बासी र असफल जालझेल’ मात्र भएको कडा टिप्पणी गरेका छन्।

उनले बुधबार नेकपा (एकीकृत समाजवादी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतामा आउन दिएको आग्रहप्रति लक्षित गर्दै लेखेका छन्, ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दागर्दै थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो ।’

विप्लवले यस्ता भ्रममा विचार मरेका, आश गुमाएका र आफ्नै इतिहासले चेप्टिएका व्यक्ति मात्र पर्ने दाबी गरेका छन्। साथै, अनेकौँ मोर्चामा संघर्ष र सहकार्यको अनुभव बटुलेको आफ्नो नेतृत्वको माओवादी पार्टी नै समाजवादी गन्तव्यतर्फ अग्रसर एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको उनले बताए।

‘यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेप्टिएका हुतिहारा मात्र पर्छन्,’ विप्लवले लेखेका छन्, ‘अनेकौँ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र हो। आउने भविष्यले यसलाई अवश्य सावित गर्नेछ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट