चितवन : चितवनको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण युवा जनगरण उपसमिति, सौराहा लेडिज जेसिज, वाइल्ड लाइफ भिक्टिम फण्ड र जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजनामा तथा नयाँ गोरख गण सौराहा ‘क’ गुल्म र चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण युवा जनगरण उपसमितिका अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न सरसफाइ कार्यक्रममा ३ किलोमिटर क्षेत्र सरसफाइ गर्दै १० बोरा फोहोर संकलन गरिएको थियो।
कार्यक्रममा सौराहा लेडिज जेसिजकी शिल्पा विडारी, वाइल्ड लाइफ भिक्टिम फण्डकी डोमा पौडेल, जनकौली मध्यवर्ती सामुदायिक वनका प्रतिनिधिहरू, नयाँ गोरख गण सौराहा ‘क’ गुल्मका क्याप्टेन नेल्सन बस्नेत लगायतको सक्रिय सहभागिता रहेको थियो।
सरसफाइ कार्यक्रमले वन संरक्षण, जैविक विविधता संरक्षण तथा वातावरणीय सचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।