Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

स्वच्छ प्रतिस्पर्धामा उत्रिन्छु : चितवन–३ का एमाले उम्मेदवार शंकर प्रसाद थपलिया

स्वच्छ प्रतिस्पर्धामा उत्रिन्छु : चितवन–३ का एमाले उम्मेदवार शंकर प्रसाद थपलिया

चितवन : के.पा. शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार अभित शंकर प्रसाद थपलिया ले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने बताएका छन्। मंगलबार उम्मेदवारी दर्ता गराएका थपलिया बुधबार आफ्नो निर्वाचन क्षेत्र चितवन–३ पुगेका हुन्। त्यस क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू जनताको सेवाका लागि इमानदार मन लिएर आएको बताए।

‘म पवित्र भावका साथ चितवन–३ का जनताको सेवा गर्न आएको हुँ। मेरो मन कञ्चन छ, म खुला किताब जस्तै हुँ,’ उनले भने। निर्वाचनमा आरोप–प्रत्यारोप र गालीगलौज नगरी आफ्ना एजेन्डा र योजनासहित जनतामा जाने लोकतान्त्रिक संस्कार अपनाउने उनको भनाइ छ। थपलियाले घरदैलो कार्यक्रममार्फत आफ्ना विचार र विकासका योजना जनतासमक्ष प्रस्तुत गर्ने बताए। उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल लाई फोन गरेर स्वच्छ, सभ्य र मर्यादित प्रतिस्पर्धा गर्न आग्रह गरेकोसमेत जानकारी दिए। उनले ३५ वर्ष लामो राजनीतिक अनुभव तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धको सदुपयोग गर्दै चितवन–३ को समग्र विकासमा आफूलाई समर्पित गर्ने बताए।

साथै, जेन–जी आन्दोलनको भावना आत्मसात गर्दै परिवर्तनको संवाहक बन्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीभित्र देखिएको आन्तरिक विवाद अन्त्य भइसकेको दाबी गर्दै उनले यसपटकको निर्वाचनमा जनताको विश्वास जित्ने राजनीति अघि बढाउने स्पष्ट पारे। यस अवसरमा थपलियाले माटोलाई ढोगेर निर्वाचन क्षेत्रप्रति सम्मान व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट