Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

टिकट लिएर चितवन हिँडेका विक्रम पाण्डे किन भए असन्तुष्ट ?

टिकट लिएर चितवन हिँडेका विक्रम पाण्डे किन भए असन्तुष्ट ?

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डे पार्टीको टिकट लिएर चितवन आइपुगेका छन् । तर, चितवन पुगेपछि उनले चितवन–३ बाट उम्मेदवारी नदिने संकेत गर्दै कार्यकर्तामार्फत सन्देश प्रवाह गरिरहेका छन् ।

राप्रपा चितवनका युवा नेता सुलभ सिग्देलका अनुसार पाण्डेले टिकट पाए पनि उम्मेदवारी दिने–नदिने विषय अझै टुंगो लागिसकेको छैन । उनका भनाइमा अहिले पार्टीभित्र चितवन महानगर कमिटी अध्यक्ष दीपक थापा मगरलाई उम्मेदवारका रूपमा अघि सार्ने कि भन्ने विषयमा छलफल भइरहेको छ ।

पार्टी स्रोतका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकतामा राखेर अन्य नेताहरूको हकमा चासो नदेखाएको भन्दै पाण्डे असन्तुष्ट बनेका हुन् । ‘अध्यक्षमा मैले मात्रै जित्नुपर्छ, अरूले जे गरे पनि फरक नपर्ने जस्तो सोच देखियो,’ एक नेताले पाण्डेको भनाइ उद्धृत गर्दै भने, ‘आफूचाहिँ एमालेसँग तालमेल गर्ने तर अरू नेताहरूका लागि केही पहल नगर्ने ?’

पाण्डेले अध्यक्ष लिङ्देनमा आफूबाहेक अन्य नेताले जित्न नहुनेजस्तो प्रवृत्ति हाबी भएको गुनासो निकटस्थहरूसँग गर्दै आएका छन् । यता राप्रपाका महामन्त्री भुवन पाठकले सोमबार नै पाण्डेको टिकट जारी भइसकेको जानकारी दिएका छन् । उनका अनुसार हालसम्म चितवन–३ मा नयाँ टिकट भने जारी गरिएको छैन ।

चितवन–३ मा नेकपाबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोबिता गौतम उम्मेदवार छन् । सोही क्षेत्रबाट यसअघि विक्रम पाण्डे निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट