Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ माघ २५ देखि २९ गतेसम्म भरतपुरमा हुने

अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ माघ २५ देखि २९ गतेसम्म भरतपुरमा हुने

भरतपुर : दुग्धजन्य उत्पादनको व्यवसायिकता प्रवर्द्धन, किसानलाई प्रोत्साहन, डेरी उद्योगमा आधुनिक प्रविधिको प्रयोग र उद्यमशीलताको दिगो विकास गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने भएको छ।

चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.को संयुक्त आयोजनामा गत वर्षदेखि सुरु भएको डेरी एक्स्पो यसपटक अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको हो। “डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने नाराका साथ एक्स्पो २०८२ माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नेपालको दुग्ध क्षेत्र आर्थिक, सामाजिक तथा पोषणीय दृष्टिले महत्वपूर्ण भए पनि विभिन्न चुनौतीको सामना गरिरहेको अवस्थामा डेरी एक्स्पोले साझा मञ्च प्रदान गर्ने बताउनुभयो। उहाँका अनुसार एक्स्पोले नयाँ प्रविधि र नवप्रवर्तनको प्रदर्शनी, बजार विस्तार, ब्रान्ड प्रवर्द्धन, व्यवसायिक नेटवर्किङ, लगानी आकर्षण, गुणस्तर सुधार, महिला तथा युवा सहभागिता वृद्धि, साथै दुग्धजन्य उत्पादनको व्यापार र निर्यात प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ।

एक्स्पोका मुख्य उद्देश्यमा डेरी उत्पादन, प्रशोधन र वितरण प्रणालीका नवीनतम प्रविधिको प्रवर्द्धन, किसान–उद्योगी–व्यापारीबीच व्यवसायिक सञ्जाल विस्तार, उपभोक्तालाई डेरी उत्पादनको गुणस्तर र महत्वबारे जानकारी, नयाँ उत्पादनको लन्च तथा ब्रान्डिङ, साना किसानलाई तालिम र मार्गदर्शन, सहकारीलाई औद्योगिक उत्पादनतर्फ प्रेरित गर्नु रहेका छन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले पहिलो संस्करणको राष्ट्रिय डेरी एक्स्पोले दुग्धजन्य उत्पादनको विविधीकरणमा योगदान पुर्‍याएको र चितवनमा दैनिक १० हजार लिटरभन्दा बढी दूध खपत हुन थालेको जानकारी दिनुभयो। यसै कारण एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको उहाँले बताउनुभयो। एक्स्पोमा डेरी प्रोसेसिङ तथा पशु आहारसम्बन्धी मेसिनरी र उपकरण, डेरीजन्य उत्पादन, सफ्टवेयर, प्याकेजिङ उद्योग, पशुपालन सामग्री, भेटेरिनरी सेवा, बैंक तथा बीमा, स्टार्टअप प्याभिलियनसहित एक सयभन्दा बढी स्टल रहनेछन्।

प्रदर्शनी अवधिमा कार्यशाला, तालिम, बी–टु–बी बैठक, सफल किसान तथा उद्यमीका अनुभव आदानप्रदान, प्रत्यक्ष प्रदर्शन, फुड स्टल, नयाँ डेरी उत्पादन लन्च, युवा लक्षित वक्तृत्वकला प्रतियोगिता, विज्ञ प्यानल छलफल तथा पुरस्कार वितरण कार्यक्रमसमेत आयोजना गरिनेछ।

सातै प्रदेशबाट एक–एक जना उत्कृष्ट दुग्ध उत्पादक किसान/उद्यमीलाई सम्मान गरिने साथै उत्कृष्ट गाई प्रदर्शकलाई पुरस्कार प्रदान गर्ने योजना छ। करीब ५० हजार अवलोकनकर्ता सहभागिता रहने अपेक्षा गरिएको एक्स्पोमा उद्योगी, किसान, नीति निर्माता, लगानीकर्ता, अनुसन्धानकर्ता, विद्यार्थी, बैंक तथा बीमा कम्पनीका प्रतिनिधि लगायत सरोकारवाला पक्षहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ सफल बनाउन संघ, प्रदेश तथा स्थानीय सरकार, दुग्ध विकाससम्बन्धी संघ–संस्था, शैक्षिक संस्था, निजी क्षेत्र तथा सहकारीहरूसँग समन्वय भइरहेको आयोजकको दाबी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट