काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न जाने क्रममा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा सहभागिता जनाउन लागेको टोलीलाई विदाई दिएको हो।
विश्वकप अघि नेपाली टोलीले श्रीलंका ’ए’ टोली र मुम्बई क्रिकेट एसोसिएसन (एमसीए) प्रेसिडेन्ट–११ सँग दुईवटा अभ्यास सिरिज खेल्नेछ। अभ्यास सिरिज तय भइसकेकोले टोली केही दिनअघि नै विश्वकप यात्रामा निस्कन लागेको हो।
विदाई कार्यक्रममा नेपाली टोलीका कप्तान रोहित पौडेलले तयारी राम्रो भएकोले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। त्यस्तै, टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले विश्वकपमा राम्रो प्रदर्शन गर्ने र नतिजा पनि सकारात्मक आउने अपेक्षा व्यक्त गरे।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै टोलीलाई शुभकामना दिए।
आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुँदैछ। नेपाल समूह ‘सी’ मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। नेपालले आफ्नो विश्वकप यात्रा फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै सुरु गर्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij