Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

निर्वाचनका लागि पर्वतमा सवा लाख मतदाता, मतदान केन्द्र थपियो

निर्वाचनका लागि पर्वतमा सवा लाख मतदाता, मतदान केन्द्र थपियो

पर्वत : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वत जिल्लामा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालयले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो सङ्ख्या निर्धारण भएको हो।

कुल मतदातामध्ये महिला ६२ हजार ८६५, पुरुष ६२ हजार ६०० र अन्य एक जना रहेका छन्। २०७९ सालको निर्वाचनको तुलनामा यस पटक पर्वतमा दुई हजार ८१७ मतदाता थपिएका छन्। स्थानीय तहअनुसार कुश्मा नगरपालिकामा सबैभन्दा धेरै ३२ हजार ९४९ र फलेवासमा २४ हजार १६१ मतदाता छन्।

यस्तै मोदी गाउँपालिकामा २० हजार ३०१, जलजला १७ हजार ६५०, पैंयु ११ हजार ६६७, विहादी ११ हजार १५९ र महाशिलामा आठ हजार ४७९ मतदाता कायम भएका छन्। निर्वाचनका लागि जिल्लाभर ७६ मतदानस्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको छ। मतदाता सङ्ख्या बढेसँगै यस पटक दुई मतदानस्थल र तीन मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

मोदी गाउँपालिकाको तिलाहार र जलजला गाउँपालिकाको फर्सेमा नयाँ मतदानस्थल थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र शर्माका अनुसार निर्वाचन आयोगको निर्देशनानुसार तयारीका कामहरू तीव्र पारिएको छ। अहिले निर्वाचन सामग्री रुजु गर्ने र अपुग सामान खरिद गर्ने प्रक्रिया अगाडि बढेको छ। मुख्य निर्वाचन अधिकृतको नियुक्ति भइसकेको र अन्य नियमित प्रशासनिक कामहरू सुचारु रहेको कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट