Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

कृत्रिम गोडाकै सहारामा सातै महादेशका शिखर आरोहण

कृत्रिम गोडाकै सहारामा सातै महादेशका शिखर आरोहण


बेलायत : ‘शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन’, कृत्रिम गोडाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किएका हरि बुढामगरले भने, ‘म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु। मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु।’

समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खा हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पूरा गरेका छन्। ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बनेका छन् । 

‘यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो। तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए। मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो। घरीघरी म आफैँ माथि शंका गर्थेँ। भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ’, उनले सुनाए।

बुढामगरले तीव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पूरा गर्न सफल भएको बताए।  युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उहाँले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने धारणा राखे।

‘यो एक अद्भुत अनुभूति हो। म बयान गर्नैै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ। तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ। म धेरै भावुक छु। अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु’, उनले भने, ‘हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शिर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ। मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु।’

मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गरेका थिए। त्यसैगरी उनले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगष्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गरेका थिए। उनले गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गरे। यससँगै दुवै गोडाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ कीर्तिमान बनेको छ। 

सेभेन समिटको रूपमा रूसको माउन्ट एल्ब्रस (५६४२ मिटर) आरोहणसमेत समावेस गरिएको भएपनि यो अहिले पहुँच योग्य नभएका कारण उहाँले फ्रान्सको मोन्ट ब्ल्याङ्क आरोहण गर्नु भएको थियो। यसलाई गिनिज वल्र्ड रेकर्डसले समेत मान्यता दिएको बताइएको छ। 

कृत्रिम गोडाको भरमा अन्टार्टिकाको माउन्ट भिन्सन चढेर नेपाली झण्डा फहराएका हरिले हरेक खतरा पार गरेपछि एक सुन्दर समय आउने उदाहरण विश्वसामु प्रस्तुत गरेका छन्। माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति साट्दै उनले भने ‘आँखाले देखेजति क्षितिज सम्मै सबैतिर हिउँ नै हिउँ, यो चामत्कारिक र स्वर्गजस्तै लाग्थ्यो।’

आफूलाई धेरै पटक यस्ता चुनौतीपूर्ण काम तपाईँ जस्ता व्यक्तिले गर्ने होइन भन्ने गरेको उनले स्मरण गरे। ‘तपाईंको शारीरिक अवस्थाकै कारण तपाईंलाई कसैले केही गर्न सक्दैन भन्छन् भने मलाई देखाउनुहोस/हेर्नुहोस्’, उनले भने।

सबै नेपाली आरोहण दलका सदस्य अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितलाई साथमा लिएर उनले २४ घण्टा नै उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेसियरबाट आधार शिविरतर्फ लागेका थिए। उनको आरोहण दलले ६ जनवरी २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको हो।  

रोल्पाको थवाङ गाउँपालिकास्थित मिरुल गाउँमा जन्मिएका पूर्व गोर्खा सैनिक हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धमा पैदल गस्ती जाने क्रममा एक भूमिगत बम विस्फोटबाट दुवै गोडा गुमाएका थिए। १५ वर्षसम्म उनले ब्रुनाइ, कोसोभो, फकल्याण्ड र अन्य ठाउँमा काम गर्दै पाँच महादेशमा गोर्खा सैनिकको रूपमा काम गरेका थिए। तीन सन्तानका पिता हरि, हाल परिवारसहित बेलायत क्यान्टबरी केन्टमा बस्दै आएका छन्।

गत वर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका उनी‘प्राइड अफ ब्रिटेन बेलायत’ गौरव अर्वाडका विजेता समेत हुनुहुन्छ। दुबै गोडा गुमाएपछि चरम निराशा र मदिरा सेवनले आत्महत्याको प्रयाससम्म गरेको सुनाए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij