Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

काठमाडौँमा ट्राफिक सप्ताह २०८२ सुरु, आइजिपी कार्कीद्वारा नागरिक सुरक्षा र ट्राफिक नियम पालनामा जोड

काठमाडौँमा ट्राफिक सप्ताह २०८२ सुरु, आइजिपी कार्कीद्वारा नागरिक सुरक्षा र ट्राफिक नियम पालनामा जोड

काठमाडौँ : काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ शनिबार सुरु भएको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले अभियानको उद्घाटन गर्दै नागरिक सुरक्षा सुनिश्चित गर्न कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि प्रहरी निरन्तर खटिरहेको बताए।

आइजिपी कार्कीले गत भदौ २३–२४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालय तथा संरचनामा भएको आगजनी र उपकरण नष्ट भएको स्मरण गराउँदै भने, “त्यो कठिन घडीमा पनि हामी सडकमा उभिएर नागरिकको सुरक्षा सुनिश्चित गर्दै आएका थियौँ। अहिले पनि हामी पुनर्निर्माणपछि सडकमा छौँ।” उनले ट्राफिक सप्ताहलाई केवल औपचारिक कार्यक्रम नभइ नागरिक चेतना अभिवृद्धि अभियानको रूपमा लिन सबैसँग आग्रह गरे।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्कीले बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि प्रहरी, चालक, यात्रु र सर्वसाधारण सबैको जिम्मेवारी आवश्यक रहेको औँल्याए। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जेनजी आन्दोलनका कारण ट्राफिक संरचना र उपकरणमा क्षति पुगेको स्मरण गर्दै, “आम नागरिकको सहयोगमा पुनर्निर्माण भइरहेको छ र भविष्यमा यस्ता गतिविधि नदोहोरिऊन् भन्ने हाम्रो कामना छ,” बताए।

काठमाडौँ महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोलले शिक्षित वर्गसहित आम नागरिकबाटै हुने ट्राफिक नियम उल्लङ्घन रोक्न अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे।

अभियान आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ। यसअन्तर्गत ट्राफिक सचेतना, नियम पालना, सवारी अनुशासन, पैदल यात्री सुरक्षा र दुर्घटना न्यूनीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कलाकार, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij