Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रत्ननगर पिठुवा खानेपानी संस्थाको आठौं बार्षिक साधारण सभा, सामुदायिक सेवा र स्रोत संरक्षणमा जोड

रत्ननगर पिठुवा खानेपानी संस्थाको आठौं बार्षिक साधारण सभा, सामुदायिक सेवा र स्रोत संरक्षणमा जोड

रत्ननगर : रत्ननगर वडा नं १५ स्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले उद्घाटन गर्नु भएको थियो।

सभामा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, सामुदायिक विद्यालय र क्रियापुत्री भवनलाई पानी महसुलमा ७५% छुट दिने घोषणा गरेका छन्। यसअघि यो छुट ६०% रहेको थियो। साथै, सुकुम्वासी वर्गलाई धारा जडानमा ७५% छुट प्रदान गर्ने नीति ल्याइएको छ।

साधारण सभामा संस्थाले सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्धवार्षिक समीक्षा गर्दै आम्दानी तथा खर्च सार्वजनिक गर्ने, पानी स्रोत संरक्षणको लागि पोखरी निर्माण र वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, तथा सेवा क्षेत्रभित्र “उपभोक्ता सँग स्वच्छ खानेपानी” अभियान सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको छ।

संस्थाले रनपा १५ मा रहेको टंकीबाट सहज पानी वितरणको लागि अनुदानमार्फत एक बोरिङ खन्ने व्यवस्था पनि गर्ने नीति सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले कुल १ करोड ६३ लाख २५ हजार रुपैया आम्दानी गरेकोमा १ करोड १२ लाख ९४ हजार खर्च कटाएर २६ लाख ८७ हजार रुपैया मुनाफा गरेको कोषाध्यक्ष विमला पाण्डे बन्जराले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।

सभामा उपाध्यक्ष कुलबहादुर भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष बन्जराले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं १४ का होमनाथ रानाभाट, वडा नं १६ का हेमराज थापा, रत्ननगर खानेपानी संस्थाका अध्यक्ष माधव अर्याल, पिठुवा गाविसका पूर्वअध्यक्ष चन्द्रकान्त न्यौपाने र पिठुवा खानेपानीका पूर्वअध्यक्ष जयन्द्रकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।

संस्थाले विधान पुनःलेखन गरी साधारण सभामा प्रस्तुत गरेको पनि जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij