Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पुसको चिसो, त्रिपालको टहरो र सुन खोजेर गुजारा

पुसको चिसो, त्रिपालको टहरो र सुन खोजेर गुजारा

कुरिनटार : पुसको कठ्याङ्ग्रिँदो जाडोले जनजीवन प्रभावित भइरहँदा ६० वर्षीय कासी बोटे र उनको परिवार भने त्रिशूली नदी किनारमै दैनिकी बिताइरहेका छन् । तनहुँको मध्यनेपाल नगरपालिका–२ पिप्लेका बोटे परिवार हरेक वर्ष कात्तिक लागेपछि घर छोडेर सुन खोज्न त्रिशूली किनार आइपुग्छन् ।

कासी बोटे श्रीमती र बहिनीसहित चितवनको फिस्लिङ क्षेत्रमा त्रिशूली नदीको किनारमा बस्दै आएका छन् । विगत २०–२१ वर्षदेखि यही पेशा अँगाल्दै आएका उनी भन्छन्, बाउ–बाजेको पालादेखि चल्दै आएको सुन खोज्ने पेशा अहिले लोप हुँदै गएको छ ।

कात्तिकदेखि वैशाखको अन्तिमसम्म त्रिशूली नदीको फिस्लिङ क्षेत्र हुँदै गल्छीसम्म सुन खोज्ने उनीहरू त्यसपछि बूढीगण्डकी नदीतर्फ लाग्छन् । गोरखाको आरुघाटसम्म पुगेर सुन खोज्ने गरेको कासीले बताए । मर्स्याङ्दी नदीमा पनि सुन पाइने भएकाले केही समय त्यता पनि जाने उनको भनाइ छ ।

‘असार–साउनको बाढीले बगाएर ल्याएका ढुंगासँगै सुन पनि माटोमा मिसिएर बग्छ,’ कासी भन्छन्, ‘हिउँदमा पानी घटेपछि ढुंगाका चेपमा जम्मा भएको बालुवा खोतलेर सुन खोज्छौँ । कतै भेटिन्छ, कतै भेटिँदैन ।’

त्रिशूली किनारको बालुवामा त्रिपालको टहरो बनाएर बस्ने उनीहरूको दैनिकी सुन खोजेरै चलिरहेको छ । ५० वर्षीया उर्मिला बोटे भन्छिन्, ‘खेती गर्ने जमिन कम छ । भएको जमिनले खान पुग्दैन । यहाँ बालुवा चाल्न नआए बिहान–बेलुका छाक कसरी टार्ने ?’

उनका अनुसार पहिलेजस्तो सुनका कण अहिले भेटिन छोडेका छन् । ‘यो काम सजिलो छैन, अझ अहिले त सुनका कणहरू निकै कम भेटिन्छन्,’ उनले गुनासो गरिन् ।

केही वर्षअघि वर्षमा ६–७ लालसम्म सुन संकलन हुने गरे पनि पछिल्ला वर्षहरूमा ३–४ लाल मात्रै जुट्न थालेको उनीहरूको भनाइ छ ।

कात्तिकदेखि वैशाखसम्म खोला किनारमा सुन खोज्ने बोटे परिवार बाँकी समयमा घर नजिकैको खोलामा माछा मारेर जीविकोपार्जन गर्दै आएको छ ।

बहिनी अप्सराका श्रीमानले अर्कैसँग विवाह गरेपछि कासीले बहिनीलाई पनि सँगै सुन खोज्न ल्याउन थालेका हुन् । अप्सराका १५ वर्ष र २ वर्षका दुई छोरा छन् । छोराहरूलाई आफन्तकहाँ छोडेर आफू त्रिशूली किनारमा सुन खोज्न आएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij