Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

चन्द्रगढी विमानस्थल दुर्घटनापछि रनवे आसपासका रुख काटिए

चन्द्रगढी विमानस्थल दुर्घटनापछि रनवे आसपासका रुख काटिए

काठमाडौँ : झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा गत पुस १८ गते राति भएको बुद्ध एयरको जहाज दुर्घटनापछि विमानस्थलको रनवे क्षेत्र आसपास रहेका रुखहरू काटिएका छन् । उडान सुरक्षामा गम्भीर प्रश्न उठेपछि स्थानीय प्रशासनले सक्रियता देखाउँदै रुख कटान गरेको हो ।

काठमाडौँबाट ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक इन्जिनियर बोकेर उडेको बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा रनवेभन्दा करिब ३०० मिटर अगाडि पुगेर घाँसे मैदान र माटोमा भासिएको थियो । उक्त दुर्घटनामा को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना घाइते भएका थिए ।

दुर्घटनापछि उडान सुरक्षाबारे चासो बढेपछि विमानस्थलको एप्रोच क्षेत्रमा रहेका अग्ला रुखहरू उडानमा अवरोध बनेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय झापाले ती रुखहरू फेदैदेखि काट्ने निर्णय गरेको हो ।

भद्रपुर विमानस्थलमा लामो समय उडान भरेका पूर्व पाइलट रमेश श्रेष्ठले विमानस्थलको पूर्वतर्फ रहेको नेपाली सेनाको ब्यारेक क्षेत्रका अग्ला रुखहरूले विशेषगरी रात्रिकालीन उडान र अवतरणमा ठूलो जोखिम निम्त्याउँदै आएको बताउँदै आएका थिए । उनका अनुसार ती रुखहरूका कारण जहाजलाई अत्यन्त होचो उचाइमा अवतरण गराउनुपर्ने अवस्था सिर्जना हुने र सानो प्राविधिक त्रुटिले पनि ठूलो दुर्घटना हुन सक्ने खतरा रहन्थ्यो ।

२५ वर्षको उडान अनुभवका आधारमा यस विषयमा पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराएको भए पनि दुर्घटनापछि मात्रै कदम चालिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विमानस्थलको धावनमार्ग नजिकै रहेका र उडान सुरक्षामा अवरोध पुर्‍याउन सक्ने विभिन्न प्रजातिका रुखहरू बिहीबार फेदैदेखि काटिएको जानकारी दिए । यद्यपि पुस १८ को दुर्घटनाको मुख्य कारण रुख नै हो वा अन्य प्राविधिक, मानवीय वा वातावरणीय कारण छन् भन्ने विषय आधिकारिक छानबिन प्रतिवेदनपछि मात्रै स्पष्ट हुने उनले बताए ।

मन्त्रिपरिषद्को पुस २१ गतेको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्घटनाको छानबिनका लागि समिति गठन गरेको छ । वरिष्ठ क्याप्टेन विनोद पुरीको संयोजकत्वमा गठित समितिले गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ अनुसार ४५ दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्नेछ ।

प्रशासनका अनुसार हाललाई सम्भावित जोखिम न्यूनीकरणका लागि रुख कटान गरिएको भए पनि जहाजको प्राविधिक अवस्था, मानवीय त्रुटि तथा वातावरणीय प्रभावबारे अन्तिम प्रतिवेदनले नै ठोस निष्कर्ष दिनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij