चितवन : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर क्षेत्रमा नयाँ भाले जंगली हात्ती देखिन थालेको छ । केन्द्रले उक्त हात्तीलाई ‘भीमगज’ नाम दिएको छ । हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरका प्रमुख मनपुरन चौधरीका अनुसार करिब एक सातायता भीमगज केन्द्र वरपर देखिँदै आएको छ । यसअघि एक महिनादेखि केन्द्र आसपास डेरा जमाएर बसेको भाले हात्ती ‘रोनाल्डो’सँग भीमगजको वर्चस्व प्रतिस्पर्धा देखिएको उनले बताए ।
‘रोनाल्डो र भीमगज दुवै एक–अर्कोलाई धपाउन खोजिरहेका छन्,’ चौधरीले भने, ‘रोनाल्डो ज्यान र बलमा ठूलो भएकाले भीमगज केही डराएको देखिन्छ, तर केन्द्र छाडेर गएको छैन।’
करिब ५३ वर्षको अनुमानित उमेर भएको रोनाल्डोले अरु भाले हात्तीलाई केन्द्र नजिक आउन नदिन खोज्ने गरेको चौधरी बताउँछन् । ‘उमेर ढल्किएकाले धेरै दौडिन नसके पनि वरपर भाले हात्ती देख्दा रोनाल्डो निकै आक्रामक हुन्छ,’ उनले भने ।
उनका अनुसार रोनाल्डो दुई महिना अघि हराएको थियो । रोनाल्डो हराउँदा ‘गोविन्दे’ नामक अर्को भाले हात्ती एक महिना केन्द्रमा बसेको थियो । रोनाल्डो फर्किएपछि गोविन्दे हरायो, तर भीमगज भने निरन्तर देखिइरहेको छ ।
केन्द्र प्रमुख चौधरीका अनुसार भीमगज र रोनाल्डो दुवैले ‘कोशीकली’ नामक पोथी हात्तीसँग शारीरिक सम्पर्क गरेका छन् । भीमगजको उमेर करिब १७–१८ वर्ष अनुमान गरिएको छ । ‘भीमगज जवान छ, बलियो हुँदै जान्छ,’ चौधरी भन्छन्, ‘भविष्यमा यसले रोनाल्डो, ध्रुवे र गोविन्देलाई समेत चुनौती दिन सक्छ।’
केन्द्रका अनुसार भीमगज अघिल्लो वर्ष पनि निकुञ्ज क्षेत्रमा देखिएको थियो । त्यसबेला यसले कर्मचारीलाई लखेटेपछि आत्मरक्षाका लागि हवाई फायर गर्नु परेको थियो ।
‘१० वटा हात्ती लिएर जंगल जाँदा यससँग भेट भयो । हामीलाई लखेट्दै भीमपुर पोष्टसम्म आयो,’ चौधरीले सम्झिए, ‘आक्रमणको प्रयास गरेपछि सेनाले ८–१० राउण्ड हवाई फायर गरेपछि मात्रै भाग्यो।’
भीमपुर पोष्टमै आक्रमण गर्न खोजेकाले त्यस हात्तीलाई ‘भीमगज’ नाम दिइएको चौधरीले बताए । त्यसपछि लामो समय नदेखिएको भीमगज यसपटक सिधै प्रजनन् केन्द्रमै देखा परेको हो ।
हाल चितवनको हात्ती प्रजनन् केन्द्रमा १० वटा हात्ती र ९ वटा साना–ठूला छावा रहेका छन् । यही केन्द्रमा हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई एक महिना अघि उपहारस्वरूप कतार पठाइएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij