नवलपुर : चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। महोत्सव नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुँदैछ।
आज दिउँसो महोत्सवको औपचारिक उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम रहेको छ। महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल समिति संयोजक छवि कँडेलले स्टल निर्माण, मञ्च, बाल उद्यान, कृषि परिसर, सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिए।
यस वर्षको महोत्सवमा जलपरी, फिस टनेल र ओपेरा हाउस विशेष आकर्षणका रूपमा निर्माण गरिएको कँडेलले बताए।
महोत्सव सचिवालय संयोजक एवं सङ्घका महासचिव तेजनारायण पाण्डेका अनुसार उद्घाटनको अवसरमा आज बिहान गैँडाकोट नगरपालिकाबाट बृहत् शोभायात्रा निकालिनेछ, जुन महोत्सवस्थलसम्म पुग्नेछ। शोभायात्रामा धार्मिक सङ्घसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुद तथा सामाजिक सङ्घसंस्थाहरूले आ–आफ्नो पहिचान झल्किने झाँकीसहित सहभागिता जनाउनेछन्।
सङ्घका वरिष्ठ सदस्य तथा महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको व्यापक प्रचारप्रसार गरिएको जानकारी दिए। उनका अनुसार सञ्चारमाध्यमसँगै राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार, ब्यानर र फ्लेक्स राखिएको छ।
यसपटकको महोत्सवले नवलपुरको पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि चलायमान बनाउने विश्वास आयोजकले लिएका छन्।
सङ्घका अध्यक्ष एवं महोत्सव संरक्षक दीपक सापकोटाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी तथा बिक्री गर्ने व्यवस्था मिलाइएको बताए। यसले कृषिउपजको बजारीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।
महोत्सवमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको छ। सुरक्षाका लागि आन्तरिक तथा बाह्य सुरक्षाकर्मी परिचालन, सिसीटिभी क्यामेरा निगरानी र बिमा व्यवस्था गरिएको आयोजकले जनाएको छ।
महोत्सव अवधिभर स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूबाट दैनिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij