Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

साउनयता चितवनमा ९ गैँडाको मृत्यु, निकुञ्ज सडकमा टायल बिछ्याउने काम सुरु

साउनयता चितवनमा ९ गैँडाको मृत्यु, निकुञ्ज सडकमा टायल बिछ्याउने काम सुरु

चितवन : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता ९ वटा गैँडाको मृत्यु भएको छ। तीमध्ये ५ वटा भाले, ३ वटा पोथी र एउटा गैँडाको लिङ्ग पहिचान हुन नसकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए। उनका अनुसार एक गैँडाको मृत्यु विद्युतीय करेन्ट लागेर भएको हो भने बाँकी सबै प्राकृतिक कारणले मरेका हुन्।

पछिल्लो पटक पुस २२ गते कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको थियो। जुध्दा घाइते भएर मरेको अनुमान गरिएको उक्त गैँडाको खाग र खुर सुरक्षित अवस्थामा रहेको निकुञ्जले जनाएको छ। हरेक वर्ष गैँडा प्राकृतिक कारण, विद्युतीय करेन्ट, आपसी जुधाइ तथा दलदलमा फस्नेजस्ता कारणले मर्ने गरेका छन्। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्।

यसैबीच, नारायणगढ–माडी–ठोरी हुलाकी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सडकमा टायल बिछ्याउने काम सुरु गरिएको छ। माडीतर्फबाट ३४ मिटर सडकमा परीक्षणस्वरुप टायल बिछ्याउन थालिएको हो। माडी नगरपालिकाको १० लाख रुपैयाँ लागतमा भइरहेको उक्त काम सफल भएमा अन्य क्षेत्रमा पनि विस्तार गरिने बताइएको छ।

वन तथा वातावरण मन्त्रालयको सहमति पश्चात परीक्षणस्वरुप टायल बिछ्याउने अनुमति दिइएको निकुञ्जले जनाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्र कालोपत्र गर्न अनुमति आवश्यक पर्ने भएकाले विकल्पका रूपमा टायल बिछ्याउने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट