बागलुङ : बजेट अभावका कारण अलपत्र परेको बागलुङका दुई रणनीतिक सडकको निर्माण पुनः सुरु भएको छ। ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत निर्माणाधीन रहेका सडकमध्ये क्षेत्र नं १ को अदालत चौपारी–सिगाना–बरेङ सडक र क्षेत्र नं २ को हरिचौर–मल्म–पाण्डवखानी सडकमा काम फेरि सुरु भएको हो।
अदालत चौपारीदेखि सिगाना–बरेङ सडकको काम ठेकेदारले समयमा भुक्तानी नपाएपछि डेढ वर्ष रोकिएको थियो। तर हाल ठेकेदारले भुक्तानी पाएको र काम सुरु भएको इन्जिनियरहरूले जानकारी दिएका छन्। सडक निर्माणको केही खण्ड अझै पनि ठेक्का प्रक्रियामा रहेको छ भने सरकारी बजेट अभावका कारण योजनाहरू फिर्ता गर्नुपरेको थियो।
त्यसैगरी, हरिचौर–मल्म–पाण्डवखानी सडकमा पनि ठेकेदारले पहिलो खण्डको काम पूरा गर्न सकेको छैन। अहिले आठ किलोमिटर सडक खण्डमा काम थालिएको र तोकिएको समयमा २५ प्रतिशत मात्रै काम भएकोमा अहिले ७० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले जनाएको छ। कम्पनीले अप्ठ्यारो खण्ड ढलान गरी सहज खण्डमा कालोपत्र गर्ने तयारी गरेको छ।
कुश्मीसेरा–बरेङ जोड्ने रणनीतिक सडकमा पनि पहिले ठेकेदारले काम अलपत्र छाडेका थिए। उपभोक्ताले मुख्यमन्त्रीसँग माग गरेपछि बजेट सुनिश्चित भएको र काम सुरु भएको हो। हाल नाम्दुकदेखि बरेङसम्म कालोपत्र सम्पन्न भइसकेको छ भने कुश्मीसेरादेखि राङखानीसम्म तयारी भइरहेको छ।
यस्तै, तमानखोलाको बोङगादोभान–सोलेडाँडा जोड्ने सडकमा बजेट अभावका कारण अझै काम सुरु हुन सकेको छैन। निर्माणका इन्जिनियर सागर भण्डारीका अनुसार आगामी वैशाखसम्म अधिकांश सडक निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij