चितवन : धुर्मुस–सुन्तली फाउण्डेसनले अलपत्र छोडेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पुनः सुचारु भएको छ। भरतपुर महानगरपालिकाले स्वामित्व लिएपछि अब रंगशालाको निर्माण कार्य फेरि सुरु भएको हो।
आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल पिलर र प्यारापिटको काम भइरहेको छ। आगामी चैतसम्म स्ट्रक्चर निर्माण सक्ने लक्ष्य राखिएको छ भने त्यसपछि फिनिसिङ र ग्राउण्ड निर्माण कार्यमा सुरु गरिनेछ। काम पूरा गर्न करिब ६ महिना लाग्ने अनुमान गरिएको छ।
धुर्मुस–सुन्तली फाउण्डेसनले आर्थिक अभावको कारणले २०७८ साल साउन २२ गतेदेखि काम रोकेको थियो। त्यसबेला रंगशालाको काम ३९ प्रतिशत मात्र सम्पन्न भएको थियो। आर्थिक संकटको कारण अलपत्र रहेको रंगशाला अन्ततः भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो।
अब महानगरपालिकाले काम सुरु गरिसकेको र तोकिएको समयमै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। यस प्रगतिसँगै चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको सपना साकार हुने संकेत देखिएको छ।



© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij