पोखरा : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रबाट उम्मेदवार आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ। जिल्ला कमिटी हुँदै प्रदेशमा पठाइएका नामहरू अन्तिम निर्णयका लागि माथिल्लो कमिटीमा पुगेका छन् भने केही जिल्लामा अझै छलफल जारी छ।
एमालेका अनुसार कास्की, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, नवलपुर, बागलुङ, गोरखा, म्याग्दी र मुस्ताङबाट आकाङ्क्षीहरूको नाम सिफारिस भइसकेको छ। मनाङमा भने छलफलसमेत सुरु हुन सकेको छैन। सिफारिस सूचीमा पार्टीका शीर्ष नेता, पूर्वमन्त्री, बहालवाला तथा पूर्व सांसददेखि विवादास्पद पृष्ठभूमिका नेतासम्म समेटिएका छन्।
गोरखा–२ बाट ‘चक्रे मिलन’ (मिलन गुरुङ) को नाम सिफारिस भएपछि एमालेभित्रै उम्मेदवार छनोटको मापदण्डमाथि प्रश्न उठेको छ। ‘गुन्डा नाइके’ को छवि बनाएका उनको सिफारिसले सामाजिक सञ्जाल र पार्टीभित्र आलोचना बढाएको छ। यही क्षेत्रबाट २०७९ मा पराजित अब्दुस मियाँसहित अन्य चार जनाको पनि नाम सिफारिस गरिएको छ।
कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट ३२ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नं. १ मा निवर्तमान सांसद मनबहादुर गुरुङ, क्षेत्र नं. ३ मा दामोदर बैरागी पुनः आकाङ्क्षी बनेका छन्। बागलुङ–२ मा केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम एकल रूपमा सिफारिस हुँदा बागलुङ–१ मा विधि मिचिएको भन्दै केन्द्रमा उजुरी परेको छ।
लमजुङबाट एमाले उपाध्यक्ष तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पुनः सिफारिस भएका छन्। उम्मेदवार बनेमा उनको यो नवौँ चुनावी प्रतिस्पर्धा हुनेछ। तनहुँका दुवै क्षेत्रबाट १९ जनाको नाम सिफारिस हुँदा स्याङ्जामा प्रत्यक्षतर्फ २१ जनाले दाबी प्रस्तुत गरेका छन्।
नवलपुर–२ बाट तिलक महतको नाम सर्वसम्मत सिफारिस भएको छ भने नवलपुर–१ मा मेयर हरि न्यौपाने र उनका स्वकीय सचिव सागर न्यौपानेसहितको भिडन्त रोचक देखिएको छ। म्याग्दीबाट युवा नेता प्रकाश पौडेलसहित पाँच जनाको नाम सिफारिस भएको छ भने मुस्ताङमा पहिलो पटक माथिल्लो मुस्ताङ क्षेत्रलाई समेट्दै तीन जनाको नाम अघि सारिएको छ।
यसपटकको सिफारिस सूचीमा महिलाको उपस्थिति न्यून देखिएको छ। प्रभावशाली महिला नेताहरू समानुपातिकतर्फ केन्द्रित हुँदा प्रत्यक्ष निर्वाचनमा महिलालाई अघि सार्न पार्टी अझै हिच्किचाइरहेको एमाले नेताहरूको स्वीकारोक्ति छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij