चितवन : चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको पहिलो चरण सम्पन्न भएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गणना गरिँदै आएकोमा हाल पहिलो चरणअन्तर्गत जडान गरिएका क्यामेरा संकलन गर्ने कार्य सुरु गरिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शनिबारदेखि क्यामेरा उठाउने काम थालिएको हो। “सोमबारसम्म पहिलो चरणमा जडान गरिएका सबै क्यामेरा संकलन गरिसक्ने लक्ष्य छ,” उहाँले भन्नुभयो। यस गणनाका लागि पुस १ र २ गते तालिम प्राप्त गरेका १५० जना गणक परिचालन गरिएका छन्।
पहिलो चरणमा त्रिवेणी, अमलटारी, कसरा हुँदै बरन्डाभार क्षेत्रलाई ब्लक बनाएर गणना गरिएको थियो। यस अवधिमा २८६ वटा ग्रिड विभाजन गरी स्वचालित क्यामेरा जडान गरिएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो।
क्यामेरा संकलनपछि दोस्रो चरणको बाघ गणना सुरु गरिनेछ। दोस्रो चरणमा १३ वटा क्याम्प बनाएर गणकहरू परिचालन गरिने निकुञ्जले जनाएको छ। यस चरणअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर–प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरिनेछ।
दोस्रो चरणमा ३३६ वटा ग्रिड बनाएर गणना गरिनेछ। “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिन्छ,” थापाले भन्नुभयो। प्रत्येक चरणमा करिब दुई सातासम्म क्यामेरा जडान गरी बाघको आवतजावत अभिलेख गरिनेछ।
चितवन–पर्सा ब्लकमा कुल ९५८ वटा ग्रिड बनाएर बाघ गणना भइरहेको छ। दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिडका रूपमा विभाजन गरिएको हो। चितवन–पर्सासँगै बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना जारी रहेको छ।
तीन महिनाभित्र बाघ गणना सम्पन्न गर्ने लक्ष्य रहेको सूचना अधिकारी मगरले बताउनुभयो। नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ। गणनामा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवक, विद्यार्थी तथा संरक्षण साझेदारहरूको सहभागिता रहेको छ।
गणकहरूले भूगोलअनुसार आठदेखि १२ वटासम्म ग्रिडमा जडान गरिएका क्यामेराको दैनिक अनुगमन गर्नेछन्। बाघको शरीरमा रहेका धार (पाटा) को आधारमा तिनको पहिचान गरी सङ्ख्या निर्धारण गरिने जनाइएको छ। प्रत्येक बाघको धार फरक–फरक हुने भएकाले यस विधि प्रभावकारी मानिन्छ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। उक्त गणनामा चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ फेला परेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij