Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

विदेशमा भन्दा गाउँमै भविष्य: कुखुरापालनबाट मासिक एक लाख आम्दानी

विदेशमा भन्दा गाउँमै भविष्य: कुखुरापालनबाट मासिक एक लाख आम्दानी

चितवन : व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले वैदेशिक रोजगारी छोडेर स्वदेशमै व्यावसायिक कुखुरापालनमार्फत उल्लेखनीय आम्दानी गर्दै आएका छन्। दुबईमा १७ वर्षसम्म जागिर गरेका बस्नेत पाँच वर्षअघि स्वदेश फर्किएर सुरु गरेको कुखुरापालन व्यवसायबाट अहिले विदेशमा भन्दा दोब्बर आम्दानी गरिरहेका छन्।

कोरोना महामारीका समयमा विदेशमै रहँदा बुवाको निधन भएपछि नौ महिनापछि स्वदेश फर्किएका बस्नेतले गाउँमै केही गर्ने अठोटसहित ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’ सञ्चालनमा ल्याएका हुन्। हाल फार्ममा दुई हजार लेयर्स कुखुरा छन्।

सुरुमा रु ३० लाख लगानी गरी छ रोपनी क्षेत्रफलमा दुईवटा आधुनिक ट्रष्ट निर्माण गरेर व्यवसाय थालेका बस्नेतले दैनिक करिब एक हजार ८०० अण्डा उत्पादन गर्दै आएका छन्। अण्डा बिक्रीबाट मासिक पाँच लाख रुपैयाँभन्दा बढी कारोबार हुने र दाना, औषधि तथा श्रम खर्च कटाएर करिब एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो।

“दुबईमा महिनाको ६० हजार रुपैयाँ आउँथ्यो, अहिले गाउँमै परिवारसँग बसेर त्यसको दोब्बर फाइदा भइरहेको छ,” बस्नेतले भन्नुभयो।

फार्मबाट निस्कने ठूला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान पाँच सय रुपैयाँमा बिक्री हुँदै आएको छ। कुखुरापालन व्यवसाय जोखिमयुक्त भएकाले किसानलाई टिकाइराख्न सरकारले पूर्वाधारभन्दा दाना उत्पादनमा प्रत्यक्ष अनुदान दिनुपर्ने बस्नेतको भनाइ छ।

फार्म सञ्चालनमा श्रीमती मधुमाया बस्नेतको निरन्तर साथ रहेको छ। “कुखुराको मल प्रयोग गरेपछि तोरी राम्रो फलेको छ, तेल र तरकारी किन्नु परेको छैन,” उहाँले बताउनुभयो।

व्यास नगरपालिकाले इनार निर्माणका लागि २५ हजार र कुखुरा खरिदका लागि ५० हजार गरी कुल ७५ हजार रुपैयाँ सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजंग बस्नेतले जानकारी दिनुभयो।

चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बन्दै गएको छ। विदेशमै भविष्य खोज्नुपर्ने बाध्यता हटाउँदै स्वदेशमै स्थिर आम्दानी सम्भव छ भन्ने प्रेरणादायी सन्देश बस्नेतको सफलताले दिएको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट