रुकुमपूर्व : रुकुम (पूर्व) मा देखिएको राजनीतिक निराशा र जनताको बढ्दो असन्तुष्टिले नयाँ वैकल्पिक वामपन्थी राजनीतिको आवश्यकता स्पष्ट गरिसकेको प्रगतिशील विद्यार्थी संगठनका संयोजक तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सन्दिप पुनले बताएका छन्।
पुनले रुकुम (पूर्व) केवल एउटा भौगोलिक इकाइ नभई नेपालको वामपन्थी आन्दोलनको ऐतिहासिक ‘लाल किल्ला’ भएको बताएका हुन् । पुनले भने- ”यही भूमिबाट निरङ्कुश राजतन्त्रविरुद्ध जनयुद्ध सुरु भयो, लोकतान्त्रिक गणतन्त्रको आधारशिला तयार भयो। तर आज त्यही रुकुममा जनयुद्धका आदर्श, समानता र सामाजिक न्यायका मूल्यहरू व्यवहारमा कमजोर पारिँदै गएका छन्।”
उनले परम्परागत वामपन्थी दलहरू सत्तामुखी, अवसरवादी र जनजीविकाका मुद्दाप्रति उदासीन बन्दै गएको आरोप लगाए । “समाजवादको नारा लगाउने नेतृत्व व्यवहारमा पूँजीवादी र उपभोक्तावादी संस्कृतितर्फ ढल्किँदा युवाहरू, किसान र श्रमिक निराश हुनु स्वाभाविक हो,” पुनको भनाइ छ।
उनका अनुसार हाल देखिएको जेन–जि आन्दोलनले पनि राजनीतिक रूपान्तरण, सुशासन र जवाफदेहिताको मागलाई पुनः बलियो बनाएको छ। “यो आन्दोलन चेतावनी मात्र होइन, वैकल्पिक राजनीतिको खोज हो। रुकुमजस्ता ऐतिहासिक ठाउँले यसलाई नेतृत्व गर्नुपर्छ,” उनले जोड दिए।
संयोजक पुनले नयाँ वैकल्पिक वामपन्थी राजनीतिले सिमान्तकृत वर्ग, दलित, महिला र उत्पीडित समुदायको वास्तविक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। “जनयुद्धले देखाएको समानता र सामाजिक न्यायको सपना अब भाषणमा होइन, जनताको दैनिक जीवनमा देखिनुपर्छ,” उनले भने।
आत्मनिर्भर अर्थतन्त्रतर्फ संकेत गर्दै पुनले स्थानीय उत्पादन, सहकारी मोडेलमा कृषि, जडिबुटी, पशुपालन, युवामैत्री रोजगारी र समुदायिक स्वामित्वमा आधारित विकास नै रुकुमको सही बाटो भएको उल्लेख गरे।
“गाउँमै रोजगारी, गाउँमै उत्पादन र गाउँमै निर्णय हुने संरचना बिना राजनीतिक परिवर्तन अधुरो रहन्छ,” उनको भनाइ छ। उनले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गर्नुपर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने र विकासका प्रत्येक प्रक्रियामा जनताको प्रत्यक्ष निगरानी आवश्यक रहेको बताए।
अन्त्यमा संयोजक पुनले प्रगतिशील शक्तिहरूबीच एकताको आवश्यकता औँल्याउँदै भने, “आज रुकुमले खोजेको विकल्प सरकार परिवर्तन मात्र होइन, व्यवस्था, नेतृत्व र राजनीतिक संस्कारमै आमूल परिवर्तन हो। लाल किल्लाको विरासत जोगाउँदै नयाँ पुस्ताले वैकल्पिक, जनमुखी र इमानदार वामपन्थी राजनीति अघि बढाउनैपर्छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij