चितवन : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं ‘सुनौलो नेपाल’को भरतपुर कन्क्लेभ कार्यक्रममा प्रमुख अतिथि जगदीश खरेलले भरतपुरलाई मुलुककै केन्द्रीय सहरको रूपमा व्याख्या गरेका छन्।
शुक्रबार चितवनको भरतपुरमा सुनौलो नेपालद्वारा आयोजित ‘भरतपुर कन्क्लेभ’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले राजधानी काठमाडौं भए पनि भौगोलिक अवस्थिति र विकासको दृष्टिले भरतपुर नै नेपालको केन्द्रीय सहर भएको बताएका हुन्।
उनले भने, “जसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए पनि मुख्य सहर न्यूयोर्क हो, त्यसैगरी काठमाडौं नेपालको राजधानी भए पनि भूगोल र विकासका हिसाबले भरतपुर देशको केन्द्रीय सहर हो।”
मन्त्री खरेलले संस्कृतिको विविधता, देशभरका नागरिकको बसोबास र आर्थिक गतिविधिको केन्द्रका रूपमा भरतपुर नेपालको प्रमुख सहर भएको उल्लेख गरे। “जसरी जापानको टोकियो, भारतको नयाँ दिल्ली, बेलायतको लन्डन र फ्रान्सको पेरिस आफ्नो–आफ्नो देशका प्रमुख सहर हुन्, त्यसैगरी नेपालको सन्दर्भमा भरतपुर हो,” उनले भने।
सुनौलो नेपालले भरतपुर महानगरपालिकाको सहकार्यमा आयोजना गरेको उक्त कन्क्लेभ भरतपुरस्थित होटल सिराइचुलीमा सम्पन्न भएको हो। कार्यक्रम भरतपुरको विकास मोडल, पर्यटन प्रवर्द्धन तथा मेडिकल हबका रूपमा यसको भविष्यका सम्भावनामा केन्द्रित रहेको थियो।
तीन वटा प्यानलमा विभाजित कन्क्लेभमा विज्ञ, नीति निर्माता र सरोकारवालाबीच भरतपुरको समग्र विकास र सम्भावनाबारे गहन छलफल गरिएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij