Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ग्यास लिक वा अक्सिजन अभाव? नवलपरासीकाे कजरिया रमेश टायल्स उद्योगमा मजदुरको निधन

ग्यास लिक वा अक्सिजन अभाव? नवलपरासीकाे कजरिया रमेश टायल्स उद्योगमा मजदुरको निधन

नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२, भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा दुई मजदुरको शङ्कास्पद मृत्यु भएको छ। मजदुरको मृत्यु उद्योगको लापर्बाहीका कारण भएको भन्दै स्थानीय र मृतकका आफन्तले उद्योग घेराउ गरेका थिए।

बुधबार राति उद्योगमा काम गरेर कोठामा सुतेका नवलपरासीका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेशका ३० वर्षीय विनोदकुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार कम्पनीले ग्यास खोल्ने क्रममा उनीहरु निसास्सिएर मरेका हुन् भने घटना ढाकछोप गर्न शव कोठामा लगेर सुताइएको आरोप लगाइएको छ।

प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार, उद्योग सिल गर्ने सहमतिपछि शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ। उद्योगले मृतकहरु अग्नि नियन्त्रण प्लान्टमा काम गर्ने मजदुर भएको जनाएको छ। उद्योगका वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले भने, मृत्युको कारण अक्सिजनको कमी हुन सक्ने बताए।

स्थानीय बासिन्दा र मृतक परिवारका आफन्तले दिनभर उद्योग परिसरमा प्रदर्शन गरेका थिए। प्रहरी र स्थानीयबीचको सहमतिपछि उद्योग बन्द गरेर शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनाको प्रारम्भिक अनुसन्धानले निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ, तर पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थप कारबाही अघि बढ्नेछ।

मृतकको निधनसँगै उद्योगको सुरक्षा व्यवस्थामा देखिएको कमजोरी र लापर्बाहीलाई लिएर स्थानीयमा आक्रोश फैलिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट