Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रास्वपामा कुलमान र बालेन पक्ष कसरी समायोजित हुन्छन् ?

रास्वपामा कुलमान र बालेन पक्ष कसरी समायोजित हुन्छन् ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उज्यालो नेपाल पार्टी र काठमाडौंका मेयर बालेन पक्ष समाहित भएसँगै दुईपक्ष रास्वपाको केन्द्रदेखि तल्लो तहसम्म समायोजित हुने भएका छन् । बालेन र उज्यालो पक्षलाई पार्टी संरचनामा समायोजनको मोडालिटी तय गर्न तीन पक्ष सम्मिलित कार्यदल गठन गर्ने लागिएको छ । रास्वपाको नेतृत्व, चुनाव चिह्न, झण्डा स्विकारेर उज्यालो नेपाल र काठमाडौंका मेयर बालेन पक्ष रास्वपासँग एकता गर्न तयार भएका थिए । तीन पक्षको मिलनमा तीन जनाको पदीय भूमिका निश्चित भए पनि अन्य पदमा नेताहरुको व्यवस्थापनका सन्दर्भमा छलफल अघि बढिसकेको छैन ।

सभापति रवि लामिछाने पछिको वरीयतामा बालेन हुने निश्चित भएको छ । प्रतिनिधि सभाको निर्वाचन पछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने व्यक्ति बालेन हुनेमा तीनै पक्ष सहमत छन् । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले भावी प्रधानमन्त्रीको उम्मेदवार भनेर प्रस्तुत गरिसकेपछि सभापति पछिको वरीयताले बालेनलाई न्याय हुने हुँदा त्यसै अनुसार सहमति बनेको बताउँछन् ।

उपसभापति वाग्लेले अनलाइनखबरसँग १३ पुसमा भनेका थिए,‘रवि लामिछाने पछिको दोस्रो वरीयतामा एउटा वरिष्ठ नेताको ओहोदामा बालेन रहनु हुनेछ ।’रवि–बालेन सहमतिमा बालेनको वरीयता टुंगो लागेपनि उनी पक्षबाट केन्द्रीय समितिमा कति संख्यामा जोडिने बारेमा सहमतिमा उल्लेख गरिएको छैन । १३ पुसमा रवि–बालेन बीच भएको सहमतिमा भनिएको छ,‘बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।’ एकता प्रक्रियामा संलग्न नेता शिशिर खनाल समायोजित हुने पक्षबाट प्रतिशतका आधारमा थप्ने विषयमा संवाद नभएको बताउँछन् ।

‘अनुभवी विज्ञ, जेनजी, सक्षम केही व्यक्ति केन्द्रीय समितिमा थपिनुहुन्छ,’ खनालले  भने । रास्वपाका नेताहरुका अनुसार बालेन र उज्यालो नेपालबाट थपेर केन्द्रीय समितिको आकार एक सयको हारहारी पुर्‍याउने तयारी छ । उज्यालो नेपालको सिंगो कमिटी नै समायोजन भने नहुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् । उज्यालो नेपालमा ७१ जना केन्द्रीय कमिटीमा छन् ।

रास्वपाको विधान अनुसार १२९ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ । अन्य दुई पक्षबाट केन्द्रीय सदस्यहरु थप गर्दा समेत विधान अनुसार पूर्ण आकारको केन्द्रीय समिति भने गठन नहुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् । ६६ जनाको केन्द्रीय समितिबाट पार्टीले कारबाही गरेका, राजीनामा दिएका लगायत घटेर हाल ५६ जना रहेको जानकारी गराइएको छ ।

उक्त संख्यामा केन्द्रीय सदस्य मनोनित गरेर बढीमा सय जनासम्म पुर्‍याउन सकिने नेता खनाल बताउँछन् । प्रतिनिधि सभाका उम्मेदवार चयनमा छलफल गर्नका लागि अरु दुई पक्षबाट केन्द्रीय सदस्य थप्नु आवश्यक हुने खनालले बताए ।

उज्यालो नेपालबाट रास्वपामा प्रवेश गरेका उर्जामन्त्री कुलमान रास्वपामा उपसभापति हुने भएका छन् । रास्वपा र उज्यालो नेपाल बीचमा सहमति हुँदा कुलमान उपसभापति हुने सहमतिमा उल्लेख छ । रवि, बालेन पछि तेस्रो वरीयतामा कुलमान रहेको चर्चा रहेपनि उपसभापतिमा कुलमान अरु दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसँग समान वरीयतामा हुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् । नेता खनाल भन्छन्,‘अल्फाबेटको आधारमा नामहरु अघि पछि लेख्ने गरेका छौं । अल्फाबेट अनुसार कुलमानको नाम अघि आएको हुँदा सहमतिमा तीन जनामा अघि राखिएको पहिलो वरीयता भएर होइन ।’

उज्यालोसँग एकता गर्नुअघि नै अनलाइनखबरसँग कुरा गर्दै उपसभापति स्वर्णिमले उनी जोडिएपनि उपसभापतिमा समान वरीयता हुने बताइसकेका थिए । बालेनसँग सहमति जुटेसँगै त्यसबेला स्वर्णिमले भनेका थिए,‘अहिले हामी दुईजना उपसभापति बराबर, समान वरीयतामा छौँ । हामीले अन्य कोही उपसभापति आउनुभयो भने पनि त्यही ‘र्‍यांकमा’मा राख्न सक्छौँ भन्ने फराकिलो मनका साथ बालेनसँग निर्णय गरेका हौँ ।’

उपसभापति पदमा कुलमान निश्चित भएपनि उज्यालो नेपालबाट कति जना जोडिने बारेमा निर्क्यौल हुन सकेको छैन । रास्वपा– उज्यालो सहमति हुँदा पनि बालेन भित्र्याउँदा उल्लेखित सहमति अनुसारकै बुँदा राखिएको छ । रास्वपा–उज्यालो सहमतिमा भनिएको छ,‘उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरुसँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।’

उज्यालो नेपाल र बालेन पक्षबाट समयोजित गर्नका लागि तीन पक्षबाट एउटा कार्यदल बनाएर त्यसले बनाएको मोडालिटीको आधारमा सदस्यहरु थप्ने विषयमा आन्तरिक छलफल भएको छ । मोडालिटी तय गर्न कार्यदल बनाउने रास्वपा र उज्यालो पक्षका नेताहरुले जानकारी गराएका छन् । उज्यालो नेपालका प्रवक्ता डा. राजु थापा समायोजनका लागि गाइडलाइन बनाउने छलफलकै क्रममा रहेको बताए । थापाले अनलाइनखबरसँग भने,‘मोडालिटी कस्तो बनाउने बारेमा छलफलमै छौं । आन्तरिक कुराकानी गर्दैछौं ।’

उज्यालो नेपालको कोशी, बागमती र गण्डकीमा संयोजक तोकिएको छ । थापाका अनुसार केही जिल्लामा समिति बनेको तर यकिन जानकारी आउन बाँकी नै छ ।समानुपातिक उम्मेदवार तय गर्दा तीन पक्षबाट एउटा कार्यदल गठन गरिएको भए बन्दसूचीका नाममा विवाद नहुने बुझाईले समेत संगठन समयोजित गर्दा कार्यदल आवश्यक रहेको निर्क्यौलमा नेताहरु पुगेका छन् ।

रास्वपा नेता खनाल भन्छन्,‘प्रतिनिधि सभाका उम्मेदवार छनोट गर्नुपर्नेछ । समानुपातिकको काम रातारात सक्नुपर्दा हतारमा अलि समस्या पनि देखियो ।’ कुलमान पक्षबाट उज्यालो नेपाल पार्टीमा आवद्ध नेताहरु समायोजित हुनेछन् भने बालेन पक्षबाट दलभन्दा बाहिर रहेका व्यक्ति रास्वपामा जोडिने भएका छन् । बालेनका स्वकीय भूपदेव शाह रास्वपाको सहमहामन्त्री हुने चर्चा भएको छ ।

शाहले अनलाइनखबरसँग भूमिका प्राप्त भए जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । उनी भन्छन्,‘ आधिकारिक निर्णय भएको जानकारी मलाई आएको छैन। कुराहरु आइरहेका छन् । यदि भूमिका पाएँ भने सो जिम्मेवारी लिन तयार छु ।’ सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त छ । रास्वपामा सचिवालय सदस्यको संख्या २५ हुने व्यवस्था छ । हाल १४ सदस्यीय सचिवालय छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट