काठमाडौँ : नेकपाले तत्कालीन माओवादी सशस्त्र युद्धको सुरुवात गर्ने संस्थापक केन्द्रीय समितिका सदस्य दण्डपाणि न्यौपानेकी छोरी निशा न्यौपानेलाई समानुपातिक सूचीमा समावेश गरेको छ। पार्टीले उनलाई महिला खसआर्यतर्फको समानुपातिक सूचीमा राखेको हो।
निशा न्यौपानेका बुबा दण्डपाणि न्यौपानेलाई २०५६ साल जेठ ७ गते काठमाडौंको सुन्धाराबाट सादा पोसाकका प्रहरीले पक्राउ गरेपछि हालसम्म पनि बेपत्ता छन्। बेपत्ताको पीडा भोगे पनि न्यौपाने परिवार माओवादी राजनीतिमा निरन्तर सक्रिय रहँदै आएको छ।
शिक्षामा स्नातकोत्तर गरेकी निशा विद्यार्थी राजनीतिबाट तत्कालीन माओवादीमा आबद्ध भएकी थिइन्। हाल उनी पार्टीको केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाकी इन्चार्ज पनि हुन्। साथै, उनी बेपत्ता योद्धा परिवार समाजको केन्द्रीय इन्चार्जको जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन्।
उनकै बुवाले स्थापना गरेको चितवनस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय जिल्लामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमध्ये एक हो। निशा न्यौपानेको राजनीतिक र सामाजिक सक्रियता परिवारको योगदानलाई निरन्तरता दिँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij