सियोल : दक्षिण कोरियाको विशेष काउन्सिलले महाभियोग लगाइएका पूर्वराष्ट्रपति युन सुक–योल र उनकी पत्नी किम क्योन–ही विरुद्धको भ्रष्टाचार आरोपको अनुसन्धानलाई अन्तिम रूप दिएको छ। स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले १८० दिने अनुसन्धान पूरा गरेपछि जारी गरेको विज्ञप्तिमा हिरासतमा रहेका २० जनासहित कुल ७६ जना विरुद्ध मुद्दा दायर गरिएको छ।
युन र उनकी पत्नी किम विरुद्धका आरोपहरू व्यापक रहेको र यसमा शेयर मूल्यमा चलखेल, विलासी उपहार स्वीकार गरेको, राष्ट्रपतीय कार्यालय र निवास स्थानान्तरणमा अवैध रूपमा हस्तक्षेप गरेको तथा अवैध रूपमा राजनीतिक कोष प्राप्त गरेको जस्ता विषयहरू समावेश रहेको टोलीले जनाएको छ। विशेष काउन्सिल टोलीका अनुसार युनले पदभार ग्रहण गर्नुभन्दा अगाडि नै सार्वजनिक भएका यी आरोपहरू दायराका हिसाबले व्यापक र प्रकृतिका हिसाबले गम्भीर छन्।
अनुसन्धानका क्रममा किमले प्रथम महिलाको रूपमा आफ्नो पदको दुरुपयोग गरी विलासी उपहारहरू प्राप्त गरेको र नियुक्ति तथा मनोनयनमा व्यापक हस्तक्षेप गरेको पुष्टि भएको छ। यस्तो आचरणलाई आधुनिक समयको सार्वजनिक पदको बिक्री को संज्ञा दिँदै टोलीले यसले सार्वजनिक प्रणालीमा ठूलो क्षति पुर्याएको उल्लेख गरेको छ।
विशेष काउन्सिल टोलीले गत अगस्टदेखि हिरासतमा रहेकी किमका लागि १५ वर्षको जेल सजाय माग गरेको छ। यस मुद्दाको फैसला सुनाउने मिति आगामी वर्षको जनवरी २८ का लागि तय गरिएको छ। किम हिरासतमा रहेर मुद्दा चलाइने दक्षिण कोरियाली पूर्वराष्ट्रपतिको पहिलो पत्नी बनेकी छिन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij