चितवन : प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। महोत्सव सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा आयोजना भइरहेको छ र पुस १३ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सव शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गरेका हुन्। आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउनु हो।
हाल करिब ४० प्रतिशत हाराहारी रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सव अवधिमा २०–२५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवको अवसरमा हात्ती केवल जनावर नभई नेपालको संस्कृति र पहिचानको अभिन्न अंग भएको उल्लेख गरे। उनले विश्वले नेपाललाई प्रकृतिप्रधान देशको रूपमा मात्र नभई हात्ती महोत्सवमार्फत नेपालको सांस्कृतिक सम्पदासँग जोडिएको पनि बुझ्नुपर्ने बताए।

आयोजकले महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पुर्याउने अपेक्षा राखेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij