Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

राई समुदायको कथा समेटिएकाे चलचित्र ‘नाक्छोङ’

राई समुदायको कथा समेटिएकाे चलचित्र ‘नाक्छोङ’

काठमाडौँ : राई समुदायमा बुबाको निधनपछि उनको आत्माको शान्तिका लागि छोराले के कस्तो संघर्ष गर्नुपर्छ ? भन्ने विषयवस्तु अब फिल्ममा देख्न पाइने भएको छ । किरण राईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नाक्छोङ’ यस्तै विषयवस्तुमा निर्माण भएको हो । चलचित्रलाई ज्योतीराज राईले निर्माण गरेका हुन् ।

चलचित्रमा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई, तुलशा लिम्बु लगायत कलाकारको अभिनय छ ।

राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्तासम्म चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परा ‘विजुवा’को विषय चलचित्रमा प्रस्तुत गरिने निर्माता राईले बताए । ‘‘नाकछोङ’ कुनै काल्पनिक पात्र नभई पुस्तौँदेखिका विश्वास, विधि, संस्कार र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो, जसलाई फिल्मले गहिरो संवेदनशीलतासाथ प्रस्तुत गरेको छ’, राईले भने ‘यसलाई आफ्नै समुदायले समेत बिर्सन थालेका कारण इतिहास ओझेलमा पर्ने खतरा छ ।’

फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको छ । ट्रेलरले पनि फिल्ममा बिजुवाका लागि एक छोराले परिवार, समाज र समयसँग गर्नुपर्ने गहिरो आन्तरिक तथा सामाजिक संघर्ष देखाउँछ । ट्रेलरमा कलाकार भुवन, यासेली, सागर, शुष्मालगायत देखिएका छन् ।

फिल्मको सार्वजनिक प्रदर्शन मिति तय हुन बाँकी छ । चलचित्रमा छायाङ्कन बाबु श्रेष्ठ, संगीत दिनेश काजी वान्तवा र अनिल कोई राईको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट