काठमाडौँ : साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलमा इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो।एपिएफले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु समर्थकलाई निराश पार्यो। सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी स्ट्राइकर फाजिला इक्वापुटले दुई गोल गरिन्। एक गोल मिडफिल्डर सिल्की देवी हेममले गरिन्।
शुरुवाती दुई गोलमा मनमाया दमाईको गल्ती एपिएफलाई असहज भयो। खेलको २१औं मिनेटमा इक्वापुटले ब्रेकथ्रु दिलाइन्। राइट ब्याक सरिता युमनामको पासलाई मनमायाले हेडरमार्फत क्लियर गर्न खोजेकी थिइन्‚ उनी सफल भइनन्। यसको फाइदा उठाउँदै इक्वापुटको प्रहार गोलमा परिणत भयो।
३५औं मिनेटमा इस्ट बंगालले अग्रतालाई दोब्बर बनायो। कर्नर बललाई क्लियर गर्न दौडिएकी मनमाया फेरि पनि असफल भइन्। यसै वेला भारतीय भेट्रान आशलता देवीले मनमायाबाट बल खोस्दै क्रस गरिन्। उक्त क्रसमा मिडफिल्डर सिल्की देवी हेममले गरेको हेडर एपिएफकी गोलकिपर अञ्जना रानामगरले रोक्न सकिनन्।
दोस्रो हाफको १६ सेकेन्ड पनि बित्न नपाउँदै इस्ट बंगालले तेस्रो गोल गर्यो। यसपालि अञ्जनाको गल्तीका कारण इस्ट बंगालले गोल गर्यो। इक्वापुटको फितलो प्रहार अञ्जनाको टाङमुनिबाट छिर्दा गोल भयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij