ढाका : बंगलादेशको मयमनसिंह जिल्लामा एक हिन्दु युवकको बीभत्स हत्या भएपछि त्यहाँको सुरक्षा व्यवस्था र साम्प्रदायिक सद्भावमाथि गम्भीर प्रश्न उठेको छ। २७ वर्षीय दिपु चन्द्र दासको हत्या गरी शवलाई रूखमा बाँधेर आगो लगाइएको अवस्थामा फेला पारिएपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यस घटनाको कडा भर्त्सना गरेका छन्। युनुसका अनुसार यस जघन्य अपराधमा संलग्न रहेको आरोपमा 'र्यापिड एक्सन बटालियन' (आरएबी) ले सात जना संदिग्धहरूलाई पक्राउ गरिसकेको छ।
स्थानीय प्रहरीका अनुसार ती युवकलाई सुरुमा निर्मम रूपमा कुटपिट गरिएको थियो र पछि आगो लगाएर मारिएको थियो। पक्राउ पर्नेहरूमा १९ देखि ४६ वर्ष उमेर समूहका मोहम्मद लिमन सरकार, तारिक हुसेन, मानिक मिया, इर्शाद अली, निजुम उद्दिन, आलमगीर हुसेन र मिराज हुसेन रहेका छन्। पछिल्लो समय बंगलादेशमा चर्किएको हिंसात्मक श्रृङ्खलाका बिच यो घटना सार्वजनिक भएको हो।
यसैबिच, बंगलादेशको विद्यार्थी आन्दोलनमा सक्रिय रहेका इन्किलाब मञ्चका हादी उस्मानको गोली हानी हत्या भएपछि राजधानी ढाकामा व्यापक र हिंसात्मक प्रदर्शनहरू भएका छन्। सोही तनावका बिच बिहीबार प्रदर्शनकारीहरूले बंगलादेशका प्रतिष्ठित पत्रिकाहरू 'प्रथम आलो' र 'डेली स्टार' को कार्यालयमा तोडफोड र आगजनी समेत गरेका छन् । एकपछि अर्को गर्दै भएका यस्ता हिंसात्मक घटनाले बंगलादेशको राजनीतिक र सामाजिक अवस्थालाई थप अस्थिर बनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij