Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ब्राउन विश्वविद्यालयमा गोली चलाउने व्यक्ति डिभीमार्फत अमेरिका छिरेको खुलासा, ट्रम्पको आदेशमा चिठ्ठा कार्यक्रम स्थगित

ब्राउन विश्वविद्यालयमा गोली चलाउने व्यक्ति डिभीमार्फत अमेरिका छिरेको खुलासा, ट्रम्पको आदेशमा चिठ्ठा कार्यक्रम स्थगित

काठमाडाैँ : अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन्। आन्तरिक सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ढिलो गरी यसको पुष्टि गर्दै उक्त कार्यक्रमका कारण अमेरिकी सुरक्षामा खतरा पुगेको दाबी गरेकी छन्। विश्वविद्यालयमा गोली चलाउने सन्दिग्ध व्यक्ति सोही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले यस्तो कदम चाल्न निर्देशन दिएका हुन्। सुरक्षा प्रमुख नोमका अनुसार सन् २०१७ मा डिभीमार्फत अमेरिका आएका ४८ वर्षीय पोर्चुगिज नागरिकले उक्त गोलीकाण्ड मच्चाएका थिए। ती व्यक्ति झन्डै दुई दशकअघि ब्राउन विश्वविद्यालयकै विद्यार्थी रहेको र पछि सोही कार्यक्रमअन्तर्गत ग्रीन कार्ड समेत प्राप्त गरेको पाइएको छ।

नोमले यस्ता व्यक्तिहरूलाई देशमा प्रवेश अनुमति दिनु नै घातक भएको बताएकी छन्। अमेरिकी प्रशासनले यूएससीआईएसलाई निर्देशन दिँदै ’डिभी–१’ कार्यक्रममा तत्काल रोक लगाएको छ। गत हप्ता ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। आक्रमणपछि फरार रहेका ती सन्दिग्ध बिहीबार न्यू ह्याम्पसायरको एक भण्डारण गृहमा मृत फेला परेका छन्।

उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ती व्यक्तिले नै सोमबार बोस्टनमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो एफ.जी. लौरेइरोको हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । सन् १९९० को दशकमा अमेरिकी संसद्ले सुरु गरेको डिभी कार्यक्रमले अमेरिकामा आप्रवासी दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजारभन्दा बढी भिसा उपलब्ध गराउँदै आएको छ।

ट्रम्प प्रशासनको यो पछिल्लो निर्णयलाई कानुनी चुनौती दिइने सम्भावना समेत देखिएको छ। हालका लागि भने ब्राउन विश्वविद्यालयको घटनालाई मुख्य कारण देखाउँदै यो आप्रवासी कार्यक्रमको ढोका बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट