Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा हिंसा भड्कियो, दुई पत्रिकाको कार्यालयमा तोडफोड

विद्यार्थी नेताको मृत्युपछि बंगलादेशमा हिंसा भड्कियो, दुई पत्रिकाको कार्यालयमा तोडफोड

ढाका : पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका एक प्रमुख युवा नेताको मृत्युपछि बंगलादेशमा हिंसा भड्किएको छ । ३२ वर्षीय सरिफ उस्मान हादीको उपचारका क्रममा सिंगापुरमा बिहीबार मृत्यु भएको हो ।

गत साता ढाकास्थित एक मस्जिदबाट निस्कने क्रममा नकाबधारी समूहले हादीमाथि गोली प्रहार गरेको थियो । बंगलादेशका अधिकारीहरूले सन् २०२४ को जनआन्दोलनपछि पहिलोपटक निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै उनीमाथि गोली प्रहार भएको थियो । हादी उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उठ्ने तयारीमा थिए ।

बिहीबार उनको मृत्युको खबर सार्वजनिक भएलगत्तै राजधानी ढाकामा सयौँ समर्थक जम्मा भएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले बंगलादेशका प्रतिष्ठित पत्रिकाहरू ‘द डेली स्टार’ र ‘प्रोथोम आलो’ को कार्यालयमा तोडफोड गरेका छन् भने एउटा भवनमा आगजनी समेत गरेका छन् । कार्यालयभित्र फसेका पत्रकारहरूलाई उद्धार गर्न सेना र अग्निनियन्त्रक टोली परिचालन गरिएको थियो ।

हादी विद्यार्थी संगठन ‘इन्क्लाब मन्चा’ का वरिष्ठ नेता थिए र छिमेकी मुलुक भारतका कट्टर आलोचक मानिन्थे, जहाँ हसिना अहिले निर्वासित जीवन बिताइरहेकी छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हादीको मृत्युलाई राष्ट्रका लागि अपूरणीय क्षति भन्दै शनिबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

युनुसले टेलिभिजन सम्बोधनमार्फत डर, त्रास वा रक्तपातले लोकतन्त्रको यात्रा रोक्न नसकिने बताए । उनले यो गोलीकाण्डलाई सुनियोजित र निर्वाचन बिथोल्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै हिंसा सह्य नहुने चेतावनी दिएका छन् ।

घटनाको अनुसन्धान जारी रहेको र गोलीकाण्डमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । गत वर्ष अगस्ट ५ मा हप्तौँ लामो विद्यार्थी आन्दोलनपछि हसिना भागेर भारत पुगेकी थिइन्, जसले उनको १५ वर्षे शासनको अन्त्य गरेको थियो । आन्दोलनका क्रममा १ हजार ४ सय जनाको मृत्यु भएको घटनामा दोषी ठहर गर्दै गत नोभेम्बरमा मात्रै हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट