वासिङ्टन डिसी : टिकटकको चिनियाँ स्वामित्व रहेको कम्पनी बाइटडान्सले आफ्नो अमेरिकी व्यवसायको बहुमत हिस्सा बेच्न अमेरिकी र विश्वव्यापी लगानीकर्ताहरूसँग बाध्यात्मक सम्झौतामा हस्ताक्षर गरेको छ । टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साउ जी च्युले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा यो जानकारी दिएका हुन् । यो सम्झौतासँगै अमेरिकामा टिकटकमाथि लाग्ने भनिएको प्रतिबन्ध टरेको छ ।
सम्झौता अनुसार अब टिकटकको अमेरिकी संयुक्त उद्यमको ५० प्रतिशत हिस्सा ओराकल, सिल्भर लेक र इमिरेटी लगानी फर्म एमजीएक्स लगायतका लगानीकर्ताहरूको समूहको स्वामित्वमा हुनेछ । बाइटडान्ससँग व्यवसायको १९.९ प्रतिशत हिस्सा मात्र रहनेछ भने ओराकल, सिल्भर लेक र अबुधाबीस्थित एमजीएक्सले १५–१५ प्रतिशत हिस्सा ओगट्नेछन् । बाँकी ३०.१ प्रतिशत हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्ताका सहयोगी संस्थाहरूमा रहने बताइएको छ । यो सम्झौता २२ जनवरीमा सम्पन्न हुनेछ ।
यो सम्झौतासँगै वासिङ्टनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बाइटडान्सलाई अमेरिकी सञ्चालन बेच्न वा प्रतिबन्धको सामना गर्न वर्षौँदेखि दिँदै आएको दबाब अन्त्य भएको छ । यो कदम गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा ढिलाइ गरेपछि सार्वजनिक भएको योजना अनुरुप नै अघि बढेको हो ।
सन् २०२४ को अप्रिलमा जो बाइडेन प्रशासनका बेला अमेरिकी संसद्ले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै एप बिक्री नभए प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । उक्त प्रतिबन्ध सन् २०२५ को जनवरी २० देखि लागू हुने तय भएको थियो तर ट्रम्प प्रशासनले स्वामित्व हस्तान्तरणको काम मिलाउन यसलाई पटक–पटक पर धकेलेको थियो ।
ह्वाइट हाउसले यसअघि नै ट्रम्प समर्थक ल्यारी एलिसन सह–संस्थापक रहेको ओराकलले सम्झौताको एक भागको रूपमा टिकटकको ‘रिकमेन्डेसन एल्गोरिदम’ को लाइसेन्स लिने बताएको थियो । ट्रम्पले सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनमा कुरा गरेको र सीले सम्झौतालाई अघि बढाउन अनुमति दिएको बताएका थिए ।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक अल्भिन ग्रेका अनुसार यो घटनाक्रमले अमेरिका–चीन सम्बन्धमा तनाव कम भएको संकेत गरेको छ । बेइजिङले संरचना र एल्गोरिदम लाइसेन्समा सहमति जनाउनुले आत्मसमर्पण भन्दा पनि तनाव कम गर्ने रणनीतिको रूपमा हेरिएको छ, जसले दुवै देशलाई आ–आफ्नो जित दाबी गर्ने बाटो खोलिदिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij