काठमाडौं : काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ। आइतबार भारतको इस्ट बङ्गाल एफसीले बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीमाथि ७–० को सानदार जित हासिल गरेसँगै फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको हो।
लगातार तेस्रो खेलमा जित हासिल गरेको बङ्गालले फाइनलमा नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। नासरिनको हारसँगै तीन खेलमा सात अंक जोडेको एपिएफले पनि दोस्रो स्थान सुरक्षित गर्यो।
आइतबारको नतिजासँगै नासरिन एक खेलअगावै फाइनल समीकरणबाट बाहिरियो। तीनमध्ये नासरिनले दुईमा पराजय र एकमा बराबरी खेलेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बङ्गालका लागि स्ट्राइकर फाजिला इक्वापुट एक्लैले पाँच गोल गरिन्। त्यस्तै अट्याकिङ मिडफिल्डर ज्योती चोहान र स्ट्राइकर सुलन्जना राउलले एक–एक गोल गरे।
आइतबार नै भएको पहिलो खेलमा ट्राइकर रश्मिकुमारी घिसिङको गोल निर्णायक बनेपछि एपिएफले पाकिस्तानको कराँची सिटी फुटबल क्लबलाई १–० ले हराएको थियो। रश्मिले ५२ औँ मिनेटमा गरेको गोलले जितहारको छिनोफानो गरेको हो। जितसँगै एपिएफको तीन खेलबाट दुई जित र एक बराबरीसहित सात अंक भएको छ।
लगातार तीन खेल जितेको इस्ट बंगालको नौ खेल रहेको छ र तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको एपिएफ दोस्रो
खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। पाकिस्तानको च्याम्पियन कराँची भने हारपछि प्रतियोगिताबाट बिदा भयाे। साफले पहिलो पटक आयोजना
गरेको च्याम्पियनसिपमा पाँच सदस्य राष्ट्रको लिग
च्याम्पियनको सहभागिता थियो।
सिङ्गल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ। त्यसअगाडि एपिएफ र इस्ट बङ्गालले लिग चरणको अन्तिम खेलमा बुधबार एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। नासरिनले बुधबार ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग खेल्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij