Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जापानको उत्तर-पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

जापानको उत्तर-पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो : जापानको उत्तर-पूर्वी क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। स्थानीय समयअनुसार बिहान ११:४४ बजे गएको यो भूकम्पको गहिराइ २० किलोमिटर रहेको थियो। भूकम्पको केन्द्रविन्दु आओमोरी प्रिफेक्चरको पूर्वी तटबाट टाढा रहेको छ।

जेएमएले जापानको पूर्वी तटका केही भागहरूका लागि सुनामीको चेतावनी जारी गरेको छ। सुनामीको लहर एक मिटर (३.३ फिट) सम्म पुग्न सक्ने चेतावनी एजेन्सीले दिएको छ। जेएमएका अनुसार आओमोरी प्रिफेक्चरको हाचिनोहे सहरमा २० सेन्टिमिटर (८ इन्च) को सुनामी लहर रेकर्ड गरिएको छ।

जापानको आपत्कालीन चेतावनी एप एनईआरभीका अनुसार आओमोरी प्रिफेक्चरको मुत्सु सहरमा करिब ६,००० मानिसहरूलाई सुरक्षित स्थानमा जानका लागि सूचना जारी गरिएको छ।

यो भूकम्प यसै हप्ताको सुरुमा सोही क्षेत्रमा गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको हो, जसले गर्दा दर्जनौँ बासिन्दा घाइते भएका थिए। सुरुको ६.७ म्याग्निच्युडको भूकम्पपछि ४.५ देखि ५.७ म्याग्निच्युडका तीनवटा पराकम्पहरू गइसकेका छन्। अधिकारीहरूले पहिलेको ७.५ म्याग्निच्युडको भूकम्पपछि अझ शक्तिशाली कम्पन आउन सक्ने चेतावनी दिँदै कम्तीमा एक हप्ता उच्च सतर्कता अपनाउन र आपत्कालीन सामग्री तयार राख्न आग्रह गरेका थिए।

जापानी प्रधानमन्त्री सनाए ताकाइचीले भने आजको भूकम्प अधिकारीहरूले यस हप्ताको सुरुमा जारी गरेको ‘महाभूकम्प’ सम्बन्धी सल्लाह अन्तर्गत नपर्ने बताएकी छन्। यद्यपि, ताकाइचीले मानिसहरूलाई सतर्क रहन, सुरक्षित मार्गहरू जाँच गर्न र आपत्कालीन आपूर्तिहरू तयारी अवस्थामा राख्न आग्रह गरेकी छन्।

जापानको प्रशान्त तटमा महाभूकम्प आउन सक्ने अनुमान भइरहेको बेला यो भूकम्प गएको छ। विशेषज्ञहरूले आगामी ३० वर्षभित्र यस्तो भूकम्प आउने सम्भावना ६०-९०% रहेको चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट