Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएल : फाइनल प्रवेशका लागि भिड्दै लायन्स र किङ्स

एनपीएल : फाइनल प्रवेशका लागि भिड्दै लायन्स र किङ्स

काठमाडौं :  नेपाल प्रिमियर लिग एनपीएलमा आज दोस्रो क्वालिफायर्सको खेल हुँदैछ। ​​हिजो भएको एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स एनपीएल क्रिकेटको दोस्रो क्वालिफायर्समा पुगेको ह। अब फाइनल प्रवेशका लागि लुम्बिनीले आज  विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ।

बुधबारको हारसँगै काठमाण्डुको यात्रा समाप्त भएको छ। आज दिउँसो ४ बजे हुने दोस्रो क्वालिफायर्सको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

गत संस्करण खराब प्रदर्शन गरेको विराटनगर यसपटक उपाधिको बलियो दाबेदार हो। सुरुवाती ३ खेल जिते पनि बिचमा केही धर्मराएको विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमको अपराजित यात्रामा पूर्ण विराम मात्र लगाएको थिएन एक पक्षिय नतिजा नै निकाल्यो। ठिक त्यसको विपरित सुदूरपश्चिमले पहिलो क्वालिफायर्समा विराटनगरमाथि एक पक्षीय खेल खेल्दै प्रभावशाली जित निकाल्यो।

सुरुवाती बलिङ गर्दै विराटनगरले सुदूरपश्चिमलाई १५५ रनमा रोके पनि ब्याटरहरुबाट योगदान पाउन सकेन। ब्याटरहरु क्रिजमा टिक्न नसक्दा विराटनगर ७८ रनमा अलआउट भयो।

अब फेरि उही टोलीसँग भेट गर्न विराटनगरलाई लिग चरणमा जस्तो पुनरागमनको आवश्यकता छ। विदेशी खेलाडीमा खुलेर खर्च गरेको उसले दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसीलाई अनुबन्ध गरेर लक्ष्यमा पुग्ने योजना बनाउँदा मार्टिन गप्टिल, मर्चेन्ट डे लाङ, साम हिजलेटलाई अनुबन्ध गरेर स्तरीय टोली बनायो।

उनीहरुलाई बसिर अहमद र लोकेश बमले साथ दिइरहेका छन् । बलिङमा सन्दीप आफै सर्वाधिक विकेटकर्ताका रुपमा शीर्षस्थानमा छन् भने मर्चेन्ट डे लाङलेसाथ दिइरहेका छन् । शुभम रन्जाने र जर्ज मन्से फर्किसक्दा मध्यक्रममा घरेलु ब्याटर चल्नु आवश्यक छ।

गत संस्करण बिर्सनलायक प्रदर्शन गरेको लुम्बिनीले यसपटक अण्डरडगको छवी बनाएको छ। लिग चरणमा विराटनगर र एलिमिनेटरमा काठमाण्डु जस्तो बलियो टोलीलाई हराएको लुम्बिनी फेरि त्यस्तै सनसनीपूर्ण जित हात पार्दै उपाधि नजिक पुग्ने लक्ष्यमा छ।

लिग चरणमा चितवन राइनोजलाई हराउँदै विजयी सुरुवात गरे पनि ३ खेलमा लगातारको हारले लुम्बिनीको प्लेअफ सम्भावना कठिन देखिएको थियो। तर, उसले उत्कृष्ट पुनरागमन गर्दै शीर्ष चारभित्र स्थान बनायो।

सुरुवाती समय सन्तुलन गुमाउँदा केही परिवर्तन गरे पनि निरोशन डिक्वेला र सन्दीप जोरालाई मध्यक्रममा लैजाने निर्णय सही साबित भयो । अलराउन्डर गुल्बदिन नइवको अनुपस्थिति भने खड्किन सक्छ । स्ट्राइक रेटमा कमजोर देखिए पनि कप्तान रोहित पौडेलबाट रन निस्किरहेको छ।

बलिङमा शेर मल्ल र रुबेन ट्रम्पेलमनको साथ छ। लिग चरणका पछिल्ला ३ खेलमा पाएको लय एलिमिनेटरसम्म कायम राखेको लुम्बिनीले उस्तै प्रदर्शन जारी राखे राम्रो नतिजा निकाल्न सक्नेछ।

विराटनगर र लुम्बिनीबीच अहिलेसम्म एनपिएलमा २ पटक खेल भएको छ। गत संस्करण भएको भेटमा विराटनगरले २ विकेटको जित हात पार्दा यसपटक लुम्बिनी ५ विकेटले जित्यो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट