रुपन्देही : लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ। नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यस महोत्सवले बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित कार्यक्रम प्रस्तुत गरेको थियो।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षु तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सांस्कृतिक साँझमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ६ सदस्यीय टोलीले सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो।
त्यसैगरी, नेपाली ब्याण्ड ‘घुगु मुगु’ ले परम्परागत नेपाली संगीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। यस महोत्सवले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई सांस्कृतिक माध्यमबाट अझ प्रगाढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij