काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ।
अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन रहेको थापागाउँ, बानेश्वरस्थित उक्त कलेजले प्रत्येक खेलमा सर्वाधिक रन बनाउने खेलाडीलाई क्यापद्वारा सम्मान गर्ने जनाएको छ।
कलेजका अध्यक्ष लक्ष्मण केसीका अनुसार प्रतियोगिताभर सर्वाधिक रन बनाउने खेलाडीले प्रतियोगिता समाप्तिको दिन विशेष प्लाटिनम क्याप प्राप्त गर्नेछन्। उक्त क्याप पाएका खेलाडीले आगामी खेलमा पनि सोही क्याप लगाएर मैदानमा उत्रिने सुविधा पाउने छन्।
प्रतियोगिताका दौरान सर्वाधिक रन बनाउने एडम रोसिङटन, मार्क वाट र रबि बोपाराले यसअघि क्याप लगाइसकेका छन्। हाल पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिङटन शीर्ष स्थानमा रहेकाले उनी अहिलेको प्लाटिनम क्याप होल्डर रहेका छन्।
एनपीएलको सुरुवातदेखि नै अफिसियल एजुकेशन पार्टनर रहेको प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले फाइनल खेलपछि सबैभन्दा बढी रन बनाउने खेलाडीलाई विशेष उपहार पनि प्रदान गर्ने योजना बनाएको छ।
कलेजले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ। अध्यक्ष केसीका अनुसार, खेलकुदले युवाको क्षमता र मनोबल बढाउने भएकाले एनपीएलमार्फत थप प्रेरणा जगाउने उद्देश्यका साथ विशेष कार्यक्रम र पुरस्कार घोषणा गरिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij