काठमाडौँ : जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनीमा जलेका मिसिल र नष्ट भएका अभिलेखको पूर्णपाठ तयार गर्दा सक्कल अभिलेख नभेटिएको व्यहोरा उल्लेख गरिँदै फैसलाको लेखन कार्य जारी छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, भदौ २४ गतेको आगजनीमा ३ हजार ६ सय ८७ थान मिसिल नष्ट भए पनि धमाधम फैसला लेखन भइरहेको छ।
सर्वोच्चले मिसिल प्राप्ति र प्रमाणीकरणका लागि विशेष निर्देशिका तयार गरेको छ। मंसिर १ देखि १७ सम्म २ हजार ८ सय मिसिल प्राप्त भइसकेको छ, जसमा हालसम्म ६० मुद्दामा सुनुवाइ भइसकेको छ।
निर्देशिकाअन्तर्गत, अदालतले मुद्दाका पक्ष, सरकारी वकिल र सरोकारवालासँग मिसिल संकलन गरेको छ। जलेका मिसिल पाँच आधारमा वर्गीकरण गरी प्रमाणीकरण र वेबसाइटमा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ।
जेनजी आन्दोलनमा देशभर २३ अदालतमा आगजनी र तोडफोड हुँदा करिब ९ लाख ३३ हजार मिसिल नष्ट भएका थिए, जसमा सर्वोच्च अदालतका चालु मिसिलको ८३ प्रतिशत जलेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij