Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ग्वाङदोङको प्रस्ताव—नेपाली उत्पादनलाई विश्व बजारमा लैजान तयार

ग्वाङदोङको प्रस्ताव—नेपाली उत्पादनलाई विश्व बजारमा लैजान तयार

काठमाडौँ : चीनको ग्वाङदोङ प्रान्त सरकार तथा त्यहाँका साना–मझौला व्यवसायीहरूले नेपालका व्यवसायीसँग सहकार्य र व्यापार प्रवर्द्धनमा विशेष चासो देखाएका छन्। नेपाल भ्रमणमा आएको ग्वाङदोङ प्रान्त सरकारको प्रतिनिधिमण्डलले संघीय तथा प्रदेश सरकारका मन्त्री र सचिवहरूसँग भेट गर्दै साना तथा मझौला व्यवसाय (एसएमई) क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाएको हो।

ग्वाङदोङ प्रान्तका उद्योग, सूचना तथा प्रविधि विभागका उपमहानिर्देशक वान सुपिङ्गको नेतृत्वमा आएको टोलीले साना तथा मझौला व्यवसायी महासंघ नेपालको समन्वयमा बागमती प्रदेशकी उद्योग मन्त्री विन्दु श्रेष्ठसँग भेट गरी औद्योगिक सहकार्य, प्रविधि आदानप्रदान तथा बजार विस्तारका विषयमा छलफल गरेको थियो।

उपमहानिर्देशक वान सुपिङ्गले नेपाली व्यवसायीले उत्पादन गर्ने सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न उपयुक्त अवसर उपलब्ध गराउन तयार रहेको बताउँदै, दुवै देशका एसएमई क्षेत्रमा सहकार्य–विस्तारमा चीन सदैव सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरे।

चिनियाँ टोलीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय तथा संघीय सरकारको उद्योग मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेको थियो। प्रतिनिधिमण्डलमा विभागका उपमहानिर्देशक फान गुवालियाङ्ग, चीनको अन्तर्राष्ट्रिय एसएमई मेलाका उपनिर्देशक हुआङ्ग जिआनजुनलगायत सहभागी थिए।

साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी तथा व्यवसायीहरूसँगको छलफलमा वान सुपिङ्गले नेपाली उत्पादनहरू प्रति चीनमा माग बढ्दो रहेको उल्लेख गर्दै बजार विस्तार, सीप आदानप्रदान र प्रविधि सहयोगमा आफूहरू उत्साहित रहेको बताए। उनले नेपाली व्यवसायीलाई चीनमा आयोजित प्रविधि तथा सीप मेलामा सहभागी हुन आह्वान समेत गरे।

महासंघका अध्यक्ष इनु पौडेलले चिनियाँ औद्योगिक मेलामा नेपाली व्यवसायीलाई विशेष प्राथमिकता दिएर सहभागी गराउने वातावरण बनाउन आग्रह गरे। कार्यक्रममा सहभागी चिनियाँ टोलीले नेपाली उत्पादन सामग्रीको अवलोकन गर्नुका साथै ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रको समेत भ्रमण गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट