Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेसको सफल आयोजना

नेपाल निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेसको सफल आयोजना

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान रोड रेसको आयोजना गरेको छ। महासंघले शनिबार १८ औँ निर्माण दिवसको अवसरमा यस उत्सवमूलक प्रतियोगिता सञ्चालन गरेको हो।

रेसमा खुल्ला १० किलोमिटर, कर्पोरेट, स्कुल विद्यार्थी, र भेट्रान ५ किलोमिटरका विभिन्न वर्गहरू समावेश गरिएको थियो। प्रतियोगितामा विदेशी तथा स्वदेशी धावकहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकायले पहिलो स्थान हासिल गरे, आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो, र सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भए। महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की दोस्रो, र राज्यलक्ष्मी रावल तेस्रो भएकी छन्। खुल्ला १० किलोमिटरका विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे।

कर्पोरेट वर्गमा पुरुषतर्फ रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ सोनु घतानी, नगिना महर्जन र रजिना दुलाल क्रमशः विजेता भए।

भेट्रान्स वर्गमा पुरुषतर्फ धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी विजेता भए भने महिलातर्फ कल्पना महर्जन, सर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।

विद्यार्थी वर्गमा छात्रतर्फ हस्तबहादुर सुनार, अजय वि.के र रञ्जित राउत पहिलो, दोस्रो र तेस्रो भए भने छात्रातर्फ भगवती खड्का, सर्मिला वि.के र आयुष्मा आचार्य विजेता घोषित भए।

कर्पोरेट, विद्यार्थी र भेट्रान ५ किलोमिटर रेसका विजेताहरूले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा कुल ४७१ जनाको सहभागिता रहेको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष रवी सिंहले अब प्रत्येक वर्ष रोड रेस सञ्चालन गर्ने जानकारी दिँदै, यस वर्ष पहिलो पटक अन्तर्राष्ट्रियस्तरबाट पनि सहभागिता भएको बताए। यस वर्ष इटाली, चीन र जापानका धावकहरूले पनि प्रतिस्पर्धा गरेका थिए। अध्यक्ष सिंहले आगामी दिनमा एफक्यान रोड रेसलाई मार्की इभेन्टका रूपमा विकसित गर्ने योजना रहेको घोषणा गरे।

रेस मार्ग:

  • १० किलोमिटर रेस सचिवालयबाट सुरु भएर बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सचिवालयमा फर्केर टुङ्गिएको थियो।

  • ५ किलोमिटर रेस सचिवालयबाट सुरु भएर बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने हुँदै सचिवालयमा फर्केर समाप्त भएको थियो।

उद्घाटन समारोह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट