Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएलमा आज दुई खेलः सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

एनपीएलमा आज दुई खेलः सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन्। दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम र सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगरको खेललाई रोचक रुपमा हेरिएको छ।

दोस्रो खेलमा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। चितवनका कप्तान कुशल मल्ल हुन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले गरेका छन्। सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ। उसका लागि आजको खेलमा कुनै दबाब छैन। आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको खेल जित्नुपर्ने दबाब छ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ। अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नुपर्ने हुन्छ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन्। दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ। दुवै टोलीको छ खेलबाट चाररचार अङ्क मात्रै रहेको छ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट