काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको २५औँ खेल लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। ‘प्लेअफ’मा पुग्ने अन्तिम टोली छानिने महत्वपूर्ण खेल भएकाले यसको महत्व बढेको छ।
हालसम्म प्लेअफमा तीन टोली पुगिसकेका छन्— सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्स। अपराजित सुदूरपश्चिम रोयल्स पहिले नै ‘क्वालिफायर–१’ मा प्रवेश गरिसकेको छ। काठमाडौँ र विराटनगरबीचको शनिबारको खेलपछि ‘क्वालिफायर–१’ मा सुदूरपश्चिमको प्रतिद्वन्द्वी तय हुनेछ।
विराटनगरले सुदूरपश्चिमलाई ठूलो अन्तरले हराए मात्र काठमाडौँसँग रनरेटमा प्रतिस्पर्धा गर्दै क्वालिफायर–१ मा पुग्न सक्छ। जित्न नसके काठमाडौँ स्वतः ‘क्वालिफायर–१’ मा प्रवेश गर्नेछ र विराटनगर ‘एलिमिनेटर’ मा जानेछ।
क्वालिफायर–१ को विजेता प्रत्यक्ष फाइनल पुग्नेछ। पराजित टोलीले ‘एलिमिनेटर’ विजेतासँग ‘क्वालिफायर–२’ खेल्दै फाइनलको अर्को टिकटका लागि प्रतिस्पर्धा गर्नेछ।
अब कुरा प्लेअफको चौथो स्थानको—
लुम्बिनी लायन्स आज जितेमा उसले ८ अंकसहित सीधा प्लेअफमा प्रवेश गर्नेछ।
लुम्बिनी पराजित भएमा जनकपुर बोल्ट्स, पोखरा एभेञ्जर्स र चितवन राइनोजका सम्भावना खुला रहनेछन्।
जनकपुरले लुम्बिनीविरुद्ध आज जितेपछि कर्णाली याक्सलाई पनि हराउनुपर्नेछ।
पोखरा र चितवनका लागि भने आफ्नो अन्तिम खेल नकआउटको रूपमा हुनेछन्।
जनकपुरले लगातार दुई खेल जितेमा उसले पोखरा–चितवन खेलको विजेतासँग रनरेटमा प्रतिस्पर्धा गर्नुपर्नेछ।
कर्णाली याक्स भने पहिल्यै प्लेअफ दौडबाट बाहिरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij