काठमाडौँ : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीप्रति जनताको दृष्टिकोण सकारात्मक बनाउँदा र ट्राफिक प्रहरीले पनि अरूप्रति सकारात्मक दृष्टिकोण अपनाउँदा सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–२०२५ को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको सडक दुर्घटना न्यूनीकरण सचेतना तथा स्वयंसेवा कार्यक्रममा मन्त्री गुप्ताले उक्त कुरा बताउनुभयो।
मन्त्री गुप्ताले आफ्नो मन्त्रालय खेलकुदसँगै युवासम्बन्धी कार्यक्रमहरूमा पनि सक्रिय रहेको उल्लेख गर्दै भने, “युवाका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाइनेछ।” साथै, सडक दुर्घटना न्यूनीकरणका लागि सीमित स्रोतका बाबजुद आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले स्वयंसेवकहरूको योगदानको सम्मान गर्नुपर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्म प्रवद्र्धन गर्नु पर्नेमा जोड दिनुभयो। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सन् १९८५ देखि हरेक वर्ष डिसेम्बर ५ मा मनाइँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij