काठमाडौं : रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत आउँदै छन्। उनको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, पुटिन भारतीय समयअनुसार बिहीबार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्नेछन्। उनी प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं महत्वपूर्ण मुद्दामा छलफल गर्ने कार्यतालिका रहेका छन्।
सरकारी अधिकारीहरूले जानकारी दिएका अनुसार, पुटिनलाई शुक्रबार औपचारिक स्वागत गरिनेछ र त्यसपछि २३ औँ भारत–रूस शिखर वार्ता सुरु हुनेछ। प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा पुटिन र उनका प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नेछन्। साथै, शुक्रबार बिहान पुटिन महात्मा गान्धीको समाधिस्थल, राजघाट भ्रमण गर्ने योजना छ।
शिखर वार्तापछि पुटिनले रूसको सरकारी प्रसारकको भारत च्यानल उद्घाटन गर्नेछन् र तत्पश्चात राष्ट्रपति द्रौपदी मुर्मूले उनको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन्। पुटिन शुक्रबार राति करिब साढे ९ बजे भारत प्रस्थान गर्ने अपेक्षा गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, शिखर वार्तामा रूसी कच्चा तेलको ठूलो खरिदका कारण बढ्दो व्यापार घाटा र अमेरिकी प्रतिबन्धको प्रभावबारे पनि छलफल हुने सम्भावना छ।
पुटिनद्वारा प्रधानमन्त्री मोदीलाई युक्रेन संकटको अपडेट दिने सम्भावना रहेको छ। भारतले युद्ध अन्त्यको बाटो संवाद र कूटनीति मात्र भएको बताउँदै आएको छ।
वार्ताका क्रममा दुई देशबीच कयौं सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ, जसमा:
भारतीय श्रमिकहरूको रूसमा आवागमन सुगम बनाउने,
रक्षा सहयोगसम्बन्धी सम्झौता,
फार्मा, कृषि, खाद्य उत्पादन र उपभोक्ता वस्तुमा निर्यात वृद्धि,
व्यापार, शिक्षा, कृषि र संस्कृति क्षेत्रमा सहयोग समावेश छन्।
रूसले हरेक वर्ष भारतलाई ३०–४० लाख टन मल आपूर्ति गर्दै आएको छ।
शिखर बैठकअघि, भारतीय रक्षामन्त्री राजनाथ सिंह र रूसी रक्षामन्त्री आन्द्रे बेलोसोभबीच बिहीबार भेटवार्ता हुने छ। यसमा एस–४०० मिसाइल प्रणाली, लडाकु विमान उन्नयन र अन्य सैन्य सामग्री खरिदका एजेन्डा समावेश रहनेछन्।
रूसी राष्ट्रपति पुटिन भारत आएर सन् २०२१ मा नयाँ दिल्ली भ्रमणमा आइसकेका छन्। गत वर्ष जुलाईमा प्रधानमन्त्री मोदी वार्षिक शिखर सम्मेलनका लागि मस्को गएका थिए। भारत–रूसबीच अहिलेसम्म २२ वार्षिक शिखर बैठक भइसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij