काठमाडौँ : नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि ऋण सम्झौता भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो।
ऋण सहायतासँग सम्बन्धित ‘एक्सचेन्ज अफ नोट’मा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले पनि सम्झौतामा हस्ताक्षर गरेका छन्।
जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब येनबराबरको ऋण सहायता उपलब्ध गराएको छ, जुन नेपाली रुपैयाँमा करिब ३१ अर्ब ७६ करोड पुग्नेछ। ऋणको वार्षिक ब्याजदर ०.२ प्रतिशत रहने व्यवस्था गरिएको छ। यस ऋणको ग्रेस अवधि १० वर्ष तोकिएको छ भने भुक्तानी अवधि ३० वर्षसम्म रहनेछ।
यस आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ। निर्माण पूरा भएपछि काठमाडौं, ललितपुर, भक्तपुर र वी.पी. राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज हुने र ट्राफिक जाम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।
सम्झौता हस्ताक्षरपछि जापानी प्रतिनिधिहरूले द्विपक्षीय सहकार्य थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्। राजदूत मायदा तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने यो आयोजनाले उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गरे। अर्थमन्त्री खनालले पनि यो परियोजनाले काठमाडौं उपत्यकाको जामयुक्त स्थानमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij