लमजुङ : छैठौँ बेसीशहर नगर कपको उपाधि वडा ११ चितिले जितेको छ। फाइनल खेलमा वडा १० बाँझाखेतसँग बराबरी भएपछि ट्राइब्रेकरमा तीनका विरुद्ध ४ गोल गर्दै वडा ११ विजयी भयो।
म्यान अफ दि म्याचको उपाधि वडा ११ का अनुप कुताल क्षेत्रीले पाएका छन्। सेमिफाइनलमा वडा ११ ले वडा १ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने वडा १० ले वडा २ लाई पराजित गरी फाइनल पुगेको थियो।
वडा ११ ले १ लाख नगद, मेयर कप, स्वर्ण पदक र प्रमाणपत्र पायो। उपविजेता वडा १० ले ५० हजार नगद, रजत पदक र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि वडा ११ का पासाङ तामाङ र सर्वाधिक गोलकर्ता वडा १ का सुदिप गिरीले पाएका छन्। दुवैलाई ५ हजार नगद र स्वर्ण पदक दिइयो। उत्कृष्ट गोलकिपरको उपाधि वडा १० का सुजन तामाङले पाएका छन् र उनलाई २ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ।
नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा सबै ११ वडाको सहभागिता रहेको थियो। फाइनल खेलअघि नगरपालिका र प्रहरीबीच मैत्रीपूर्ण खेलमा जिल्ला प्रहरी कार्यालयको टिमले दुईका विरुद्ध तीन गोल गर्दै जित हात पारेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij