काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले हराउँदै प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको छ।
पहिला चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको पाँचौँ खेलमा जित्नैपर्ने दबाबमा थियो। आजको जितसँगै लुम्बिनी तालिकामा चार अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४० रन बनाए र प्लेयर अफ दि म्याच घोषित भए। निरोशन दिकवेल्लाले ३७ रन जोडे भने सन्दीप जोराले २५ रन योगदान दिए।
पोखरा एभेञ्जर्सका लागि विपिन खत्री, मार्क टेलर र सागर ढकालले दुई–दुई विकेट लिए भने जिमी निशमले एक विकेट हात पारे।
पोखराले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाएर १५० रन मात्र बनायो। पारीको सुरुवात राम्रो भएन; दिनेश खरेल १५ रनमा पहिलो विकेटको रूपमा आउट भए भने कप्तान कुशल भुर्तेल दोस्रो विकेटको रूपमा पेभेलियन फर्किए। सुमित बर्मा खाता खोल्न सकेनन् र त्रितराज दासले मात्र एक रन जोडे।
तर सातौँ ब्याटर जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौँ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरे। रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ३२ बलमा तीन छक्का र तीन चौकासहित ५१ रन बनाए।
लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij