काठमाडौँ : आडम रोसिङ्टन र जिमी निसमको अर्धशतकीय योगदानसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गर्न आएको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो। पोखराका ओपनर आडम रोसिङ्टनले ६३ बलमा सात चौका र पाँच छक्काको सहयोगमा ८१ रन बनाए भने जिमी निसमले अविजित ५१ रन थपे। निसमले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे।
पोखराका अन्य ब्याट्समनमध्ये दिनेश खरेल सात रनमा आउट भए भने कप्तान कुशल भुर्तेल र सेमित वर्मा शुन्य रनमै पेभेलियन फर्किए। त्रितराज दास पनि एक रनमै आउट भएपछि पोखराको ब्याटिङ केही समयको लागि दबाबमा देखियो।
बलिङमा लुम्बिनी लायन्सका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुलवदिन नइवले एक विकेट हात पारे।
पोखराले यसअघि तीन खेल खेलेको थियो र आज दोस्रो जित निकाल्ने लक्ष्यमा छ। चौथो खेल खेलिरहेको लुम्बिनी लायन्स पनि आफ्नो दोस्रो जितको प्रयासमा छ। दुवै टोली समान दुई–दुई अंकसहित क्रमशः छैटौँ र सातौँ स्थानमा छन्।
आजै अर्को खेलमा शीर्ष टोली सुदूरपश्चिम रोयल्स र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij